Logo
Logo

फेकको फन्दामा ओली, हिमानीलाई हैरान


8.6k
Shares

काठमाडौं । सामाजिक सञ्जालमा पूर्वयुवराज्ञी हिमानी शाहको नाममा खोलिएका नक्कली आइडीबाट हुँदै आएका पोस्टहरुले भ्रम सृजना गरेको छ ।

हिमानीको सचिवालयका अनुसार अहिलेसम्म हिमानीको नामबाट कुनै पनि सामाजिक सञ्जालमा अकाउन्ट खोलिएको छैन । तर, उनको नामबाट थुप्रै अकाउन्टहरु खोलिएका छन् । र, यस्ता फेक अकाउन्टहरुबाट बेलाबेला विभिन्न विषय पोष्ट हुँदै आएको छ ।

हिमानीको फेक आइडीबाट हुने पोस्टहरुबाट सामन्य नागरिक मात्रै नभइ पूर्वप्रधानमन्त्री समेत भ्रममा परेका छन् ।

हालैमात्र पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समेत हिमानीको नाममा खोलिएको फेक अकाउन्टबाट पोस्ट भएको सामग्रीसँग नराम्ररी झुक्किएका छन् ।

पहिचान पक्षधरहरुले प्रदेश १ को नाम पुनःनामङ्कन गर्नुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् । यसै क्रममा प्रदेश १ मा नेताहरुविद्ध प्रदर्श हुने गरेको छ । ओलीविरुद्ध पनि प्रदर्शन भएको छ ।

पार्टीको कार्यक्रममा सहभागी हुन केही दिन अगाडि ओली प्रदेश १ पुगेका थिए । यसै क्रममा ओलीविरुद्ध झापा, इलाम, पाँचथर र तेह्रथुममा कालो झण्डासहित प्रदर्शन भयो ।

हरेक जिल्लामा ओलीविरुद्ध प्रदर्शन भइरहेको बेला हिमानीको नामबाट खोलिएको फेक अकाउन्टमा ‘झापामा केपी ओलीको गाडीमाथि ढुङ्गामुढा गर्दै जनताले कालो झण्डा देखाएका छन्’ लेखिएको थियो । सोही फेक अकाउन्टको स्टाटसलाई लिएर ओलीले पूर्वराजासँग हिसाबकिताब गर्न बाँकी रहेका धम्की दिनसमेत भ्याए ।

इलाम पुगेर ओलीले भनेका थिए– ‘ज्ञानेन्द्र शाह उनका परिवार, उनकी बुहारी जान्ने भएर जनताले ढुंगा हानेको देख्ने । अनि ट्वीट गरेर जनताले केपी ओलीलाई ढुंगा हानेको भन्ने । मैले यसको जवाफ दिनु नपरोस् । ज्ञानेन्द्र शाहलाई भन्दैछु- बढ्ता फुरफुर नगर, बढ्ता फुरफुर गर्ने होईन हामीले हिसाबकिताब नगरी छोडेका छौँ । हाम्रा साथीहरुलाई ड्याङ्ड्याङ् गोली हानेर ज्यान लिँदा छोडेका छौँ । अनेक हिसाबकिताब गर्या छैनौँ । हामी सहनशील भएका हौँ । हिसाबकिताब गर्न सुरु गर्नु नपरोस्, छोराबुहारी अगाडि सारेर धेरै फुरफुर नगर, म चेतावनी दिन्छु ।’

हैरान हिमानी
फेक आकाउन्टका कारण हिमानी हैरान भएको उनको सचिवालयले बताएको छ । विगतमा समेत फेक अकाउन्टबाट जथाभावी लेख्ने काम हुँदै आएकोबारे हिमानी जानकार छन् ।

फेक अकाउन्टबाट बारम्बार आफूसँग सम्बन्ध नराख्ने कुराहरु पोष्ट हुन थालेपछि हिमानीले यसअघि नै नेपाल प्रहरीको सीआइबीलाई अनुसन्धान गरेर कारबाही र सम्पूर्ण अकाउन्टहरु बन्द गरिदिन गर्न माग गर्दै निवेदन दिएको सचिवालयले जानकारी दिएको छ ।

हिमानीले आफ्नो नाममा फेक अकाउन्ट खोल्नेहरुलाई कारबाही गर्न अनुरोध गर्दै प्रहरीलाई निवेदन लेखेको लामो समय बितिसक्दा पनि कारबाही नभएको भन्दै असन्तुष्टि जनाएको सचिवालयले बताएको छ ।

‘नक्कली आइडीबाट सम्प्रेषण भएका विषयलाई पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले यस्तो प्रतिक्रिया जानउनु ठीन भएन’, हिमानीको सचिवालयले दृष्टिन्यूजलाई भन्यो- ‘कोशी प्रदेश नामाकरणबारे पहिचान पक्षधरहरुद्वारा भइरहेको आन्दोलनमा हाम्रो कुनै पनि संलग्नाता छैन । यसमा ओलीले आगोमा घ्यू थप्ने काम मात्रै गरेका हुन् ।’

फेक आइडीकै पेष्टको आधारमा ओलीले पहिचानवादीले आफूविरुद्ध गरेको प्रदर्शनलाई ओलीले पूर्वराजाको परिवारले गराएको प्रर्दशनको संज्ञा दिएका छन् । त्यसयता ओलीले बारम्बार पूर्वराजाको परिवारलाई गाली गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्