
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वच्छ, स्वस्थ र निष्पक्ष सञ्चार जगत् नै लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उनले प्रजातन्त्रको स्थापनासँगै नेपामा पत्रकारिताको विकासक्रम प्रारम्भ भएको स्मरण गराएका छन् ।
सभापति देउवाले कांग्रेस मर्यादित, जिम्मेवार र स्वतन्त्र व्यावसायिक पत्रिकारिताको प्रवर्द्धन, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सञ्चारमाध्यममा सञ्चारकर्मीको पेशागत एवं व्यावसायिक विकास र प्रेस स्वतन्त्रताको पक्षमा सधैँ लड्दै आएको दाबी गरेका छन् ।
जटिल परिस्थितिमा पनि संयमित रहेर नेपाली प्रेसले निर्वाह गरिरहेको भूमिकाको कांग्रेस पार्टीका तर्फबाट उच्च कदर र सराहना गरेका छन् ।
‘लोकतान्त्रिक व्यवस्थामै स्वतन्त्र प्रेस सम्भव हुन्छ भन्ने विश्वास राख्ने सञ्चारकर्मीले विभिन्न कालखण्डमा जो जसले सहादत दिनुभयो, ती सबैलाई आजको मितिमा विशेष श्रद्धा साथ स्मरण गर्न चाहन्छु’, विज्ञप्तिमा उल्लेख छ ।











