काठमाडौं । यूएईलाई हराउँदै नेपालले एसिया कपमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई तथा शुभकामनाको ओइरो लागेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले यूएईलाई सात विकेटले हराउँदै एसीसी प्रिमियर कपको उपाधि जित्यो । उपाधि जितेसँगै नेपाल एसिया कपमा छनोट पनि भयो । अब, यसै वर्ष हुने एसिया कपमा नेपालले भारत र पाकिस्तासँग एउटै समूहमा खेल्नेछ ।

नेपाल २१ वर्षपछि दोस्रोपटक एसिया कपका लागि छनोट भएपछि नेपाली क्रिकेट टिमलाई क्रिकेटप्रेमिहरुले बधाई साथै शुभकामना दिइरहेका छन् । राष्ट्रपति, प्रधानमन्त्रीदेखि सर्वसाधारणले सामाजिक सञ्जालमार्फत बधाई दिँदै खुशी साटिरहेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमा एक फोटो राख्दै नेपाली क्रिकेट टिमलाई बधाई दिएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– एसीसी प्रिमियर कप क्रिकेटको विजेता भएसँगै हाम्रो एसिया कप खेल्ने सपना साकार भएको छ । यो सफलताको लागी नेपाली राष्ट्रिय क्रिकेट टिमलाई धन्यवाद । हामी सबैलाई बधाई ।’
उनले बधाई दिइरहँदा एसिया कपसम्म नेपाललाई पुर्याउन महत्वपूर्ण योगदान गर्ने सन्दीप लामिछानेलाई बाइकट गरेको छन् । नेपाली टिमलाई बधाई दिँदै राखेको फोटोमा सन्दीप अटाएका छैनन् ।
सन्दीप एसीसी प्रिमियर लिगको सर्वोत्कृष्ट खेलाडी बनेका थिए । प्रतियोगितामा उत्कृष्ट बलिङसँगै ब्याटबाट समेत उनले नेपाललाई जिताउन योगदान दिएका थिए ।
प्रतियोगितामा सन्दीपले ५ खेल खेल्दै १३ विकेट लिएका थिए । उनी सबैभन्दा बढी विकेट लिने खेलाडीहरूको सूचीमा दोस्रो रहे । उनले कतारविरुद्धको समूह चरणको म्याचमा उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई जिताएका थिए । सन्दीपले समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध सर्वाधिक ४२ रन समेत बनाएका थिए ।
सर्वोत्कृष्ट ब्याट्सम्यानको उपाधि यूएईका भृत्य अरविन्दलाई दिइएको छ । उनले प्रतियोगितामा दुईवटा १५० माथिको स्कोरसहित सर्वाधिक रन बनाएका थिए ।
प्लेयर अफ दि टुर्नामेन्ट बनेका सन्दीपकै फोटो नराखी गगनले नेपाली क्रिकेट टिमलाई बधाई दिएपछि उनीमाथि सामाजिक सञ्जालमा क्रिकेटप्रेमीहरूले प्रश्न उठाइरहेका छन् । गगनले खेलमा समेत राजनीति गरेको भन्दै उनको पोस्टमा केहीले आक्रोश व्यक्त गरिरहेका छन् ।
आईसीसी क्रिकेट विश्वकप लिग टूको बेला पनि गगनले सन्दीपको निलम्बन फुकुवा गर्नु गलत भएको बताएका थिए । उनले बलात्कारजस्तो गम्भीर आरोप लागेका व्यक्तिले विशेषाधिकार पाउन नसक्ने र पाउन नहुने बताएका थिए ।
उनले लेखेका थिए– ‘अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेको सम्बन्धमा मेरो धारणाका बारे धेरैले सामाजिक सञ्जाल मार्फत प्रश्न गर्नु भएको छ । मेरो धारणा स्पष्ट छ, बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न । एक साता अघि नै यो प्रसङ्ग आउन साथ क्यानका अध्यक्ष (जो नेपाली कांग्रेसका जिल्ला सभापति समेत हुनुहुन्छ)लाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ । उहाँले यस खालको निर्णय नगर्ने बताउनु भएको थियो । तर त्यसो हुन सकेन। पुनः दोर्होयाउन चाहन्छु– बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ, तत्काल फिर्ता लिनुपर्छ ।’











