Logo
Logo

पूर्वराजा शाहले भने- हामी राष्ट्रको पुरानो गौरव फर्काउन अब कम्मर कसौँ


1.3k
Shares

नेपालगञ्ज । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको पुरानो गौरव फर्काउनका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । बुधबार नेपालगन्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

पूर्वराजा शाहल हाम्रो प्रकृति, श्रमशक्ति र बुद्धि गरिब नभएपनि गरिबी नियति बनेको बताउँदै भने, ‘हाम्रा विकसित सहरहरू, गाउँहरू आज उजाड छन् । हाम्रो उद्योगधन्दा, कलकारखाना र उत्पादनकारी गतिविधि आज निस्प्रभावी बनेका छन् । त्यसैले त हाम्रो होनहार जनशक्ति बेरोजगारीका कारण बिदेसिन बाध्य छन् ।’

उनले दुई छाक खान र एक धरो लगाउन धेरैलाई धौधौ परिरहेको समेत बताए ‘पुरुष, महिला, जाँगरिलो युवा, अनुभवी बुढाबुढी सबै जुट्नुपर्ने खाँचो छ’ उनले भने, ‘अब म भन्छु– अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ ।’

पूर्वराजा शाहले विक्रम सम्बतको २०१० को दशकदेखि ४० को दशकसम्म नेपालमा पूर्वाधारको निर्माण, उद्योगहरूको स्थापना, औद्योगिक क्षेत्रको निर्माण र भविष्य सुधारका धेरै निर्माण संरचना तथा विधि प्रक्रियाका कामहरू भएको बताए ।

उनले भने, ‘महेन्द्र राजमार्ग, कोदारी राजमार्ग, पृथ्वी राजमार्ग, तराई पहाडमा सहरी विकास, शिक्षा तथा स्वास्थ्य केन्द्रको स्थापना, मुलुकी ऐन, भूमि सुधार, ग्रामीण उत्थान, नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, त्रिभुवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालय, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापना, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, महेन्द्र प्रकृति संरक्षण कोषका साथै धेरै कार्यकलाप त्यस अवधिका उल्लेख्य उपलब्धि हुन् ।’
उनले सबैसँग मित्रता, सबैसँग शान्ति, सहयोग, साझेदारीको विकास र संयुक्त राष्ट्रसंघको सदस्यतादेखि लिएर असंलग्न आन्दोलनको सक्रिय भूमिका र शान्ति क्षेत्रको घोषणासम्म पनि यसै अवधिमा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्