
काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले नक्कली भुटानी शरणार्थी बन्न खोज्नेलाई पनि कारबाही गरिनुपर्ने बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत उनले मोटो रकम लिएर नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहमा संलग्नताको आशंकामा प्रहरीले नेता र उच्चपदस्थ अधिकारी धमाधम पक्राउ गरिरहेका बेला नेता थापाले नक्कली शरणार्थी बनेर अमेरिका जान खोज्नेलाई समेत कारबाही गरिनुपर्ने बताएका हुन् ।
उनले भने, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि सप्रमाण कारबाही हुनुपर्छ। साथै, नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने गैरकानुनी काममा संलग्न व्यक्तिहरूमाथि पनि जाहेरी सँगसँगै पक्राउ, अनुसन्धान र कडा कारबाही चलाउनुपर्छ ।’
नेपाली भएर पनि नक्कली भुटानी शरणार्थी बन्न तयार हुने, रकम संकलन गर्ने र बुझाउनेहरूलाई पीडित भन्न नमिल्ने भन्दै उनले तिनीहरुको रकम जफत गर्नुपर्ने धारणा राखेका छन् । उनले भनेका छन्, ‘अनि तिनलाई पक्राउ गरी पुर्पक्षका लागि जेल हालेर मात्रै अनुसन्धानको जारी कारबाही अघि बढाउनुपर्छ ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा मामिला सल्लाहकार इन्द्रजित राई, तत्कालिन गृह सचिव टेकनारायण पाण्डे, एमाले नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपलाई पक्राउ गरेको छ ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका एमाले नेता थापाले यो घटनामा कसैको मुख हेर्न नहुने र गैरकानुनी काम गर्ने सबैलाई कारबाही हुनुपर्ने बताएका छन् । ‘गैरकानुनी काम गर्ने, गराउने र संलग्न हुने सबै अपराधीहरू हुन् । यसमा निर्दोष कसैलाई फसाउनु हुँदैन र कोही पनि अपराधीले उन्मुक्ति पाउनु हुँदैन’ उनले भनेका छन् ।











