काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (बिहीबार) दिउँसो अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन् ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा प्रहरीले एमाले सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले खोजिरहेको बेला ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । पूर्वमन्त्री तथा एमालेका सचिव रायमाझीविरुद्ध बुधबार नै पक्राउ पूर्जी जारी भएको थियो ।
भेटमा यसबारे पनि ओलीले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण गराएका थिए । वार्तापछि पत्रकारसँग प्रतिक्रिया दिँदै नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने प्रकरणमा सांसदलाई बाटोबाटै समाउनु रहष्यमय भएको बताए ।
उनले निर्दोष पर्नु नहुने र दोषि उम्कन नहुने बताए । उनले भने, ‘दोषिलाई छुटाउने हाम्रो प्रयास हुँदैन । निर्दोषलाई फसाउन खोजियो भने हामी सहदैनौँ, चार वर्षअगाडि चेक काटेको छ । त्यो पनि उसैसँग रहेको कुरा छ । एउटा सांसद, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेता षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु रहस्यपूर्ण छ । भागेर जाने कुरा होइन ।’
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा रायमाझी तानिएका हुन् । उनका छोरा संदीप हिजै पक्राउ परिसकेका छन् ।
उक्त प्रकरणमा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल गृहमन्त्री भएका बेलामा सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई पक्राउ परेका छन् भने बादलका छोरा प्रताप पनि मुछिएका छन् ।














