काठमाडौं । सरकारले निजामती कर्मचारीका माग सम्बोधन गर्न वार्ता समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन गरेको हो ।

वार्ता समितिले निजामति कर्मचारीलगायत सरोकारवाला पक्षसँग छलफल गर्नेछ । उक्त समितिले यथाशीघ्र वार्ता आह्वान गर्ने तयारी गरेको छ । संयुक्त ट्रेड युनियनले उठाएका मागहरु वार्तामार्फत सम्बोधन हुने कर्मचारी संघ तथा संगठनहरूले विश्वास लिएका छन् ।
कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेल, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) का अध्यक्ष हरिबहादुर रावल, एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष गगन सिंह विष्ट र नेपाल मधेशी निजामति कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले वार्ता समिति बनाएकाले आन्दोलनका कार्यक्रम स्थगित गरिएको जनाएका छन् ।
संघीय निजामति सेवा ऐन तत्काल ल्याउनुपर्ने र ऐनमा निजामती कर्मचारीका माग सम्बोधन हुनुपर्ने माग उनीहरूको छ ।












