काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमाको सेवालाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने बताएका छन् ।

बिहीबार पदभार ग्रहण गरेसँगै ४ वटा निर्णय गरेका उनले आफ्नो जिम्मेवारीलाई अझ बढी व्यवस्थित, प्रभावकारी, सेवाग्राहीमैत्री बनाउन जोड दिने बताए ।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले संक्रामक एवं महामारीको रुपमा फैलिने कोभिड, डेंगी र अन्य सरुवा रोग फैलिन नदिन तीन तहसँगको समन्वय र व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, ‘आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालयले प्रदेश तथा स्थानाय तहहरुमा साधन, स्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधासहित चिकित्सकहरुलाई अधिकतम परिचालन गरिनेछ ।’
स्वास्थ्य सेवा प्रवाहका लागि संघ, प्रदेश र स्थानीय तहहरुमा रहेका अस्पतालहरुबाट भइरहेको उपचरात्मक सेवा र उपलब्ध स्रोत र साधन (औजार उपकरण)को अत्यधिक उपयोग भए, नभएको समेत समग्र क्षेत्रको अनुगमन गर्ने बताए ।











