संखुवासभा । संखुवासभामा हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित दुई जना घाइते भएका छन् । सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा हेलिकप्टरका पाइलट र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ ।

घटनास्थलमा रहेका भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तामाङका अनुसार हेलिकप्टरमै रहेका छिरिङ भोटे भने सकुशल रहेका छन् ।
माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटनामा परेको वडाअध्यक्ष तामाङले जानकारी दिए । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् ।











