काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गैरकानुनी क्रियाकलाप गर्ने जो कोहीलाई राज्य संयन्त्रले संरक्षण गर्न नहुने बताएका छन् । शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकपछि नक्कली भुटानी शरणार्थीको नाममा भएको ठगी प्रकरणबारे पत्रकारले राखेको जिज्ञासामा अर्थमन्त्रीसमेत रहेका महतले राज्यले अपराध गर्नेहरुलाई संरक्षण गर्न नसक्ने बताएका हुन् ।

उनले भने, ‘राज्य संयन्त्रले कुनैपनि गैरकानुनी क्रियाकलापलाई संरक्षण गर्न सक्दैन । त्यो कल्पना पनि गर्न सकिँदैन । जसले गलत काम गरेको छ । त्यसलाई कानुनी कठघरामा ल्याउनुपर्छ ।’ नक्कली शरणार्थी प्रकरणमा भएको ठगी जघन्य अपराध भएको उनले बताए ।
‘पत्रपत्रिकामा आइसकेपछि हामीले थाहा पाएका हौँ । यो आपराधिक काम हो । यसको जति निन्दा गरे पनि कम हुन्छ’, महतले भने, ‘अनुसन्धानको क्रममै छ । न्याय निरुपण होला । हामी चाहन्छौं कि जो–जो त्यसमा सहभागी छन् । तिनीहरु सजायको दायरामा आउनुपर्छ ।’ नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा ‘हाइ प्रोफाइल’ व्यक्तिहरू पक्राउ परिरहेका बेला उनले भने, ‘दोषी जोसुकै होस्, कानुनी कारबाही हुनुपर्छ ।’











