Logo
Logo

नक्कली शरणार्थी प्रकरण : आरोपी खोजी गर्दै प्रहरी

‘एमाले सचिव टोपबहादुर रायमाझी प्रहरी सम्पर्कमा छैन’


9.9k
Shares

काठमाडौं । प्रहरीले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा करोडौँ रकम ठगीमा संलग्न रहेका आरोपीको खोजी तीव्र पारेको छ । पक्राउ पुर्जी जारी भएका आरोपी सम्पर्कविहीन भएपछि खोजी तथा अनुसन्धानमा विशेष सावधानीका साथ टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

जाहेरीमा नाम किटान गरिएका कतिपय व्यक्तिका बारेमा थप प्रमाण सङ्कलन गर्ने तथा पक्राउ पुर्जी जारी भएका आरोपीको खोजी कार्यमा प्रहरी टोली जुटेको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।

उनले पुर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी प्रहरीको सम्पर्कमा नरहेको बताए । यसअघि पक्राउ परेका तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राईका छोरा निरजका बारेमा प्रहरीले कुनै जानकारी पाउन सकेको छैन ।

‘अब १० देखि ११ जना आरोपीको खोजी तथा अनुसन्धान भइरहेको छ’, परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक रिजालले भने, ‘अहिलेसम्म आठ जना पक्राउ गरी अनुसन्धान भइरहेको छ ।’

पक्राउ परेकामा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ छन् ।
जिल्ला प्रहरी परिसरले उनीहरुविरुद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

यसको अनुसन्धानका लागि प्रहरीले ६० दिन समय पाउँछ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कूल रु २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन् ।

सुरुमा पीडितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएकामा कार्यालयले केहीलाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी परिसरलाई बुझाएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्