Logo
Logo

मुलुकको अर्थतन्त्र चिन्ताजनक अवस्थामा छैन : प्रधानमन्त्री


504
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास चालिरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताएका छन् ।

‘नेपाल व्यवसाय शिखर सम्मेलन–२०२३’ कार्यक्रममा सम्बोधन गर्दै उनले गत वर्षदेखि मुलुकको अर्थतन्त्र संकटमा जाने लागेको भनेर आतंक सिर्जना भएकोमा अहिले त्यो बिस्तारै कम हुँदै गएको बताएका हुन् ।

‘नेपालको अर्थतन्त्र श्रीलंका जस्तो टाट पल्टिन लाग्यो भनेर गतवर्ष जुन आतंक सिर्जना भएको थियो, अहिले त्यो आतंक त्यति छैन । हामी अहिले श्रीलंकाको उदाहरण दिँदैनौं’, उनले भने, ‘अर्थतन्त्रको समस्या गम्भीर छ । तर हामी आतंकित हुनुपर्ने अवस्था छैन । यसलाई कसरी सहज तुल्याउने भन्नेतर्फ सरकार केन्द्रित छ ।’

कोभिड–१९ महामारी र रूस–युक्रेन युद्धसहित विश्वमा विकसित विभिन्न राजनीतिक तथा आर्थिक परिघटनाका कारण नेपालको अर्थतन्त्र प्रभावित भएको प्रधानमन्त्री दाहालले बताए । अर्थतन्त्र सुधारका लागि सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने पनि उनको भनाइ छ ।

अर्थतन्त्रको खराब अवस्था चलिरहँदा सरकार, मातहतका निकाय, विकास साझेदार, प्रमुख राजनीतिक दल र सरोकारवाला सम्पूर्ण पक्षहरू एकाकार भई आर्थिक गतिविधिलाई तीव्र बनाउन लाग्नुपर्ने दाहालले बताए । संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउनु वर्तमान अवस्थाको प्रमुख आवश्यकता रहेको पनि प्रधानमन्त्रीको भनाइ छ ।

‘विभिन्न आन्तरिक तथा बाह्य आर्थिक गतिविधिमार्फत् आर्थिक वृद्धि हासिल गर्न सरकार पूर्ण सजगता र सक्रियताका साथ लागि परिरहेको छ । विभिन्न चुनौतीका बाबजूद अहिले देशको अर्थतन्त्रको अवस्था क्रमशः सुधारोन्मुख हुँदै गएको कुरा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आँकडाहरूले प्रष्ट पारेका छन्’, उनले भने ।

अन्य विकसित र विकासशील मुलकहरूको अर्थतन्त्रमासमेत शिथिलता देखिन सक्ने भनी अन्तर्राष्ट्रिय मुद्राकोष तथा विश्व बैंकलगायत निकायहरुले गरेको प्रक्षेपणका बाबजूद नेपालको अर्थतन्त्रमा बिस्तारै सुधार हुँदै गएको प्रधानमन्त्री प्रचण्डको दाबी छ ।

‘विगत केही समयदेखि शोधानान्तर बचत रहेको, वैदेशिक मुद्राको सञ्चितिको अवस्थामा सुधार भएको, आयातको परिमाणमा कमी आएको, विप्रेषणमा उत्साहजनक वृद्धि भएको हुनाले देशको समग्र अर्थतन्त्रको बाह्य क्षेत्रको अवस्था सुधारोन्मुख छ’, उनले भने ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले नेपालको आन्तरिक स्रोत प्रयोगबाट आर्थिक समृद्धि हासिल गर्न सकिने विषयलाई प्राथमिकतामा राख्ने पनि उनको भनाइ छ ।

‘नेपाल जल, जमिन, जडीबुटी, जंगल र युवा जनशक्ति जस्ता स्रोतहरूले भरिपूर्ण देश हो । यिनै क्षेत्रहरूमा देखिएका प्रचुर सम्भावनाहरूको खोजी, परिचालन एवं उपयोग बिना समृद्ध नेपाल निर्माण सम्भव देखिँदैन’, उनले भने, ‘तीव्र आर्थिक वृद्धिका लागि कृषि तथा वन पैदावार, पर्यटन, जलविद्युत, सूचना प्रविधिलगायतका प्रचुर सम्भावना बोकेका क्षेत्रहरूमा स्वेदशी÷वैदेशिक लगानी विस्तार गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको छ ।’

प्रधानमन्त्री प्रचण्डले सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने पनि बताए । कृषि, पर्यटन, जलविद्युत् र उद्यमशीलतालाई प्राथमिकतामा राख्दै गर्दा घरेलु उत्पादन बढाउनु, निर्यातमा सुधार ल्याउनु र अर्थतन्त्रलाई उत्साहित बनाउनु सरकारको प्राथमिकतामा रहने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्