Logo
Logo

भ्रष्टाचारका सम्पूर्ण काण्ड छानबिन गरेर देखाउन सरकारलाई एमालेको चुनौती


756
Shares

काठमाडौँ । नेकपा एमालेले भ्रष्टाचारका सम्पूर्ण काण्डबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरेको छ । आइतबार प्रतिनिधिसभाको पहिलो बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले सबै प्रकारका भ्रष्टाचारका विषयलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न चुनौती दिएका हुन् ।

प्रमुख सचेतक पदम गिरीले नक्कली भुटानी शरणार्थीका विषयमा गत भदौमा राष्ट्रियसभामा एमाले सांसद पार्वती रावलले उठाएको विषय भएको बताउँदै भने, ‘तर, त्यो बेला सरकारले सुनेन ।’ जुनसुकै प्रकारका भ्रष्टाचारका विषयलाई छानबिन गरी कानुनको दायरामा ल्याउन जोड दिँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छानबिन गरी कारबाही गर्न चुनौती दिए ।

प्रमुख सचेतक गिरीले भने, ‘प्रधानमन्त्रीज्यूले बाहिर भन्दै हिँड्नुभएको छ भ्रष्टाचार सवालमा यो टेलरमात्रै हो फिल्म त आउन बाँकी नै छ । तर, सम्माननीय प्रधानमन्त्रीज्यू, हामी फिल्म हेर्न आतुर छौँ, हामी तपाईले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौँ । फिल्म देखाउनुस् ।’

उनले भने, ‘वाइडबडी घोटलाकाण्ड के हो ? छानबिन गरौँ, बाँसबारी जग्गा घोटला काण्ड के हो ? बालमन्दिर जग्गा घोटला काण्ड, मातातीर्थ जग्गा घोटला काण्ड, यति काण्ड, ओम्नि काण्ड, लडाकु शिविरका घोटला काण्डमा अरवौ रुपैयाँ राज्यको सम्पत्ति लुटिएको थियो । यस्ता काण्डमा परेकाहरूलाई एक–एक गरेर कारबाही गर्न हामीले अब हिम्मत गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्