Logo
Logo

गैरआवासीय नेपालीले नागरिकता पाउनेमा दुईमत छैन : परराष्ट्रमन्त्री


रासस

819
Shares

काठमाडौं । गैरआवासीय नेपालीलाई आर्थिक सामाजिक अधिकारसहितको नागरिकताका प्रदान गर्ने विषयमा प्रमुख दलका नेताले साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।

चेक रिपब्लिकको राजधानी प्रागमा जारी गैरआवासीय नेपाली संघको १५औँ युरोप क्षेत्रीय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले गैरआवासीय नेपालीहरुका मुद्दाका एक मत जाहेर गरेका हुन् ।

परराष्ट्रमन्त्री एनपी साउदले संविधानले गरेको परिकल्पनाभित्र गैरआवासीय नेपालीले नागरिकता पाउनेमा दुईमत नभएको बताए । संविधानले नै व्यवस्था गरेर गैरआवासीय नेपालीलाई आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिने भनी स्पष्ट व्यवस्था रहेकाले अबको केही समयभित्रै नागरिकताको मुद्दा सम्बोधन हुने बताए ।

परराष्ट्रमन्त्री साउदले भने, ‘गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी मुद्दा १५ ÷१६ वर्षदेखि बहसको विषय बनिरहेको छ, अब यसलाई सम्बोधन गर्न ढिलो भइसक्यो, यस मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता म सरकारको तर्फबाट गर्दछु ।’

गैरआवासीय नेपालीको नागरिकताको विषयमा दलीय रुपमा कुनै समस्या र विमति नभएको भन्दै बताउँदै उनले भने, ‘संविधान सम्मानित छ र परिवर्तनशील पनि छ । संविधान परिवर्तन नहुन्जेल चाही हामी संविधानको दायराभित्र बस्नुपर्छ । तपाईँहरुका समस्यालाई कानुनी फ्रेमवर्कमा राखेर समाधान गरिनेछ ।’

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गैरआवासीय नेपाली नागरिकतालगायत विषय नेपाली कांग्रेस सकारात्मक रहेको बताउनुभयो । उहाँले गैरआवासीय नेपालीको नागरिकता, सम्पत्ति अधिकार, मताधिकारका विषयमा विभिन्न कानुनमा संशोधन गर्नुपर्नेमा जोड दिए ।

एमाले उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधान निमार्णमा गैरआवासीय नेपालीहरुको समेत भूमिका भएको चर्चा गरेका उनले भने, ‘नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकता प्रष्ट लेखिएकोले मूर्तता दिनुपर्छ । त्यसको लागि हामी सहयोग गर्न तयार छौँ ।’

उनले समयअनुकूल आवश्यकताअनुसार संविधानलाई संशोधन तथा परिमार्जन गरेर गैरआवासीय नेपालीलाई थप अधिकार दिन सकिने बताए । उनले गैरआवासीय नेपाली संघलाई सबै नेपालीको साझा संस्थाको रुपमा विकास गर्न सबै दलीय शक्ति एक हुनुपर्नेमा जोड दिए ।

रास्वपाका सांसद मनिष झाले गैरआवासीय नेपालीसम्बन्धी नागरिकता समस्या नभएर पृथक र तत्काल सम्बोधन गर्नुपर्ने मुद्दा भएको भन्दै चर्चा गरे । उनले नेपालका राजनीतिक दललाई थप जिम्मेवारी दिन गैरआवासीय नेपालीलाई आग्रह गरे । माओवादी केन्द्रका सांसद खिमलाल देवकोटाले गैरआवासीय नेपालीको मागप्रति प्रतिबद्धता व्यक्त गरे ।

शुक्रबारदेखि सुरु गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १५औँ युरोपेली सम्मेलन चेक रिपब्लिकको राजधानी प्रागमा जारी छ । सम्मेलनको अन्त्यमा प्राग घोषणपत्र जारी गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्