
काठमाडौं । प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आज बस्दैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार दिउँसो भएको छलफलपछि संवैधानिक परिषद् बैठक डाकिएको हो । बैठक आज (सोमबार) साँझ ६ बजे सिंहदरबारमा बस्ने तय भएको उपसभामुख इन्दिरा राना मगरले जानकारी दिए ।
प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि यसअघि पनि बैठक बसेको थियो । तर, कुनै निचोड निस्किएको थिएन । ‘बैठकको अन्य एजेन्डा भनिएको छैन । यसअघिकै बैठकको निरन्तरता भनिएको छ,’ उनले भने ।
यसअघिको बैठकमा ओलीले संसदीय सुनुवाइ विशेष समिति गठन नभएसम्म प्रधानन्यायाधीश नियुक्ति नहुने भएकाले पहिले संसदीय समिति टुंगो लगाउनुपर्ने अडान लिएका थिए ।
संवैधानिक परिषदको सिफारिस गरेको व्यक्ति संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने व्यवस्था छ । सर्वोच्च अदालत लामो समयदेखि कामुको भरमा चलिरहेको छ ।














