Logo
Logo

पुराना प्रयोग गरेपछि मात्रै नयाँ उपकरण किन्न निर्देशन


441
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पुरानो उपकरण बनाएर प्रयोग गरेर मात्र नयाँ उपकरण किन्न निर्देशन दिएका छन् ।

मन्त्रालयमा आइतबार कर्मचारीलाई निर्देशन दिँदै उनले पुराना उपकरण बनाएर मात्र नयाँ उपकरण किन्न निर्देशन दिएका हुन् । ‘उपकरण खरिद गरिएर राखिएका मात्र छन् । प्रयोग गरिएका छैनन् । नयाँ उपकरण किन किन्नुप¥यो ?,ल उनले भने, ‘अहिले भएका पुराना उपकरण के कस्ता कहाँ रहेका छन् । तिनीहरू बनाएर प्रयोग नगरेसम्म खरिद प्रक्रियामा जानु हुँदैन ।’

उनले एक हप्ताभित्र पुराना उपकरणको अवस्थाबारे आफूलाई जानकारी गराउनसमेत निर्देशन दिए । उनले स्वास्थ्य मन्त्रालयल संवेदनशील भएकाले जभाभावी बिदामा पनि नबस्न कर्मचारीलाई निर्देशन दिए ।

मन्त्री बस्नेतले आफू सफल हुनु भनेको कर्मचारीले राम्रो काम गरेपछि हुने भन्दै कर्मचारीलाई दत्तचित्त भएर काम गर्न आग्रह गरे । ‘म सफल हुने भनेको तपाईंहरूले काम गरेर मात्र हुने हो,’ उनले भने, ‘तपाईंहरूले आफ्नो कर्तव्य पालन भएर काम गर्नुपर्दछ । आन्तरिक काम तपाईंहरूले गर्ने हो । म टिमको नेतृत्व गरेर काम गर्दछु ।’

उनले कोरोना भाइरस र डेङ्गु सङ्क्रमण सावधानी अपनाएर रोकथाम र नियन्त्रण गर्न सकेको बताए । सरकारी अस्पतालजस्तो राम्रो उपचार निजी अस्पतालमा नहुने भन्दै सरकारी अस्पतालको गुणस्तरलाई अझ ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

उनले चिकित्सको परामर्श शुल्क तोक्ने विषयमा मन्त्रालयको लगाम हुनुपर्ने बताए । ‘चिकित्सकको विशेषज्ञतालाई पनि ध्यान दिनुपर्दछ । चिकित्सक र बिरामीको मर्कालाई ध्यान दिनुपर्‍यो । यतिसम्म चिकित्सकको परामर्श शुल्क उचित हुन्छ भनेर सिलिङ तोक्ने स्वास्थ्य मन्त्रालयको लगाम हुनुपर्दछ’, मन्त्री बस्नेतले भने ।

उनले चिकित्सकले तोक्ने शुल्कको नियमन र अनुगमन गर्नुपर्ने भनाइ राखे । ‘एउटा चिकित्सकले एउटा बिरामी हेरेको एक हजार दुई सय लिन थालेको मैले सुनेको छु’, उनले भने, ‘त्यसको अनुगमन र नियमन कसले गर्ने हो ?’

प्रतिक्रिया दिनुहोस्