काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम सिफारिस गरिएको छ । सिंहदरबारमा सोमबार बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा उनको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

संसदीय सुनुवाइपछि राष्ट्रपतिले उनलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्नेछन् । विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन ।
प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको संवैधानिक परिषद्को बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए ।











