
काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस हुनु स्वागतयोग्य कदम भएको टिप्पणी गरेका छन् ।
प्रधानन्यायाधीश नियुक्त गर्ने माग गर्दै आन्दोलनरत बारका अध्यक्ष धिमिरेले सरकारले नयाँ प्रधानन्यायाधीशमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सिफारीस गरेपछि उक्त निर्णयको स्वातग गरेबका हुन् ।
‘विगतमा बारले प्रधानन्यायाधीश नियुक्तिका निम्ति दबाबमुलक अभियान चलायो । कम्तीमा संवैधानिक परिषदको बैठकबाट प्रधानन्यायाधीश सिफारिस भएको छ । यो स्वागतयोग्य कदम हो । तर संसदीय सुनुवाइ समिति बनेको छैन । त्यो पनि उहाँहरुले सहमतिमै बनाउनु होला भन्ने विश्वास छ,’ उनले भने ।
बार अध्यक्ष घिमिरेले न्यायिक नेतृत्व पाएपछि मर्यादित न्यायपालिकाको मुद्दा अगाडि बढाउने पनि बताए । उनले भने, ‘नेपाल बारको अभियान स्थगन भएको छैन । आन्दोलन सधैं गर्ने भन्ने होइन, आवश्यकता अनुसार गर्ने हो । पहिले प्रधानन्यायाधीशलाई काम गर्न दिऊँ ।’
प्रधानन्यायाधीश सिफारिस भएका हरिकृष्ण कार्कीले आफ्नै अध्यक्षतामा गठित समितिको मर्यादित न्यायपालिकासम्बन्धी प्रतिवेदनलाई फुलकोर्टबाट स्वामित्व ग्रहण गराउनुपर्ने उनले बताए । घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेल नागरिकता विधेयक प्रमाणीकरणबारे सरोकारवालासँग छलफलमै रहेको पनि बताए ।
नेपाल बारको अठचालिसौं कार्यकारिणी बैठकले आफूलाई प्रमाणीकरणको पक्षमा उभ्याइसकेकाले अहिले अन्य कुरा गर्न नमिल्ने पनि घिमिरेले बताए ।’











