
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा आक्रामक नहुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब दिएका छन् ।
पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँड नेपालीलाई नक्कली शरणार्थी बनाउने प्रकरणमा पक्राउ परेपछि देउवा र ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर दबाब दिएका हुन् ।
खाँड पक्राउ परेपछि देउवा र ओली प्रधानमन्त्रीसँग संवाद गर्न सिंहदरबार पुगेका थिए । तीन शीर्ष नेताबिचको छलफलमा देउवा र ओलीले राजनीतिक प्रतिशोधका आधारमा सरकारले कदम चाल्न नहुने समेत चेतावनी दिएका छन् ।
आफ्ना नेता पक्राउ परेपछि तनावमा रहेका देउवाले गठबन्धन सरकारको बेलामा चालिने यस्ता कदमहरूले सरकार नै संकटमा पर्न सक्ने भन्दै प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् ।
त्यसै गरी, अध्यक्ष ओलीले राजनीतिक प्रतिशोधका आधारमा सरकार अघि बढेको भन्दै यस्तो क्रियाकलाप राजनीतिक संस्कार नभई एकले अर्कालाई निध्याउने खेल मात्रै रहेको भन्दै सोचेर कदम चाल्न चेतावनी दिएको स्रोतले बताएको छ ।
प्रधानमन्त्री प्रचण्डले भने अनुसन्धानको क्रममा रहेको मुद्दामा आफूले बोल्नु वा हस्तक्षेप गर्नु उपयुक्त नरहेको भन्दै गम्भीर अपराधमा संलग्न जो कोही भए पनि कारबाहीको दायरामा ल्याउनका लागि सहयोग गर्न दुई नेतासँग आग्रह गरेका छन् ।
यसैबिच, तीन शीर्ष नेताको छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत पुगेका छन् । ओली र देउवाले गृहमन्त्री श्रेष्ठलाई पनि प्रतिशोधको आधारमा काम गर्न उचित नहुने भनेका थिए । जवाफमा गृहमन्त्री श्रेष्ठले पनि देउवा र ओलीसँग सहयोग गर्न आग्रह गरेका थिए ।
नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री खाँड पक्राउ परे पनि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी अझै फरार छन् ।
बुधवार एमालेले विज्ञप्ति जारी गर्दै रायमाझीलाई निलम्बन गरेको छ भने रायमाझीले आफू बिरामी रहेको भन्दै संसद् सचिवालयसँग बिरामी बिदा मागेका छन् । प्रहरीले पक्राउ पूर्जी जारी गरेसँग फरार रहेको रायमाझी अहिले कता छन् भन्ने अत्तोपत्तो छैन ।











