काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले प्रशासनिक खर्च घटाउने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महातले भने, ‘अहिले प्रशासनिक लागत जुन छ त्यसलाई कम गर्ने लक्ष्य छ । बजेटमा अझ स्पष्टसँग भनौँला ।’

उनले जहाँ जुन खर्च नगरेर पनि काम चल्छ भने त्यहाँ खर्च नगर्ने सरकारको नीति हुने बताए । उनले भने, ‘यही नीति अनुसार चल्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्ने छौँ । अनावश्यक ठाउँमा खर्च नगर्ने, गाडी नकिन्ने । पुरानै) चलाउने ।’
पछिल्ला केही वर्षहरुमा अनावश्यक भवन बनाउने प्रतिस्पर्धा चलेको भन्दै उनले वर्तमान सरकारले यसलाई ख्याल गर्ने बताए । अर्थमन्त्री महतले भने, ‘हामीले बिल्डिङ बनाउने प्रतिस्पर्धा नै गरेका छौं । ठूला–ठूला बनायौं । स्रोत साधन हैसियतभन्दा चर्को, अबौं अर्बको । यस्तो खाले खर्च यसपटक अति आवश्यक भएमात्रै गर्नेछौँ ।’
अर्थमन्त्री महतले आफूले पश्चिमा देशमा पढेर आएको उल्लख गर्दै भने, ‘मैले देखको छु । पेपर लेस इकोनोमीमा भनिरहेको छ । हाम्रो चाहीँ कोठाको साइज बढाइरहेका छौं । पश्चिमा मुलुकमा सानो अफिसमा ठूला अफिसर बसिरहेको हुन्छ कम्युटर लिएर । हाम्रोमा पनि त्यस्तो सम्भावना छ ।’











