
काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणविरुद्ध प्रहरीले ४ वटा प्रमाण फोला पारेको छ ।
प्रहरीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा बिचौलियाहरूसँग पैसा लिएको ठोस प्रमाण भेटिएपछि बुधबार पूर्वगृहमन्त्री खाँण र उनका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसीलाई पक्राउ गरेको थियो ।
उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले खाँणविरुद्ध चारवटा बलिया प्रमाण फेला परेको छ । जसले यस प्रकरणमा उनको प्रत्यक्ष संलग्नता देखिन्छ ।
खाँणले आफू गृहमन्त्री हुँदा शरणार्थीसम्बन्धी कार्यदलको गोप्य प्रतिवेदन किर्ते गरेको र ठगीमा सघाएबापत बिचौलियाबाट १ करोड २४ लाख भन्दा धेरै रकम लिएको प्रमाण भेटिएको प्रहरीको दाबी छ ।
यस्तै यही प्रकरणमा पक्राउ गरिएका सचिव टेकनारायण पाण्डेले पनि खाँणलाई बुझाउन बिचौलियासँग रकम लिएको स्वीकार गरेको विषयलाई पनि प्रहरीले बलियो प्रमाण मानेको छ ।
यसबाहेक विभिन्न मितिमा खाँणले मन्त्रीस्तरिय निर्णय गराएर बिचौलिया समूहलाई सघाएको पुष्टि हुने आधारहरू भेटिएका अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन् ।
खाँणका स्वकीय सचिव केसीले पनि ठगी प्रकरणमा पाँच लाख रुपैयाँ लिएको खुलेको प्रहरीले जनाएको छ । यसअघि पक्राउ परेका सचिव टेकनारायण पाण्डेको मोबाइलबाट यो तथ्य उजागर भएको प्रहरी दाबी छ ।
हुन त पाण्डेले पक्राउ पर्नुअघि नै आफ्नो मोबाइल फर्म्याट गरिसकेका थिए । तर प्रहरीले डाटा रिकभर गरेर च्याट गरिएको प्रमाण फेला पारेको हो । प्रहरीले मोबाइलको डाटा रिकभर भएपछि खाँण र पाण्डेबीच भएको गोप्य म्यासेज पढेपछि मात्रै खाँणलाई पक्राउ गरेको हो ।
म्यासेजमा करोडौँ रकम लेनदेनबारे दुई जनाबीच कुराकानी भएको भेटिएको छ । यही प्रमाण खाँणलाई पक्राउ गर्न पर्याप्त बनेको प्रहरीको दाबी छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डको पर्दाफास हुँदा तत्कालीन गृहमन्त्री र गृहसचिव नै अहिले प्रहरी हिरासतमा पुगेका हुन् ।
हालसम्म एक सय ६ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएको प्रहरीले जनाएको छ ।
यो प्रकरणमा पक्राउ पर्ने पूर्वगृहमन्त्री खाँण र नेपाल सरकारका सचिव पाण्डे सबैभन्दा उच्च तहका व्यक्ति हुन् । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनी २० बैशाखदेखि फरार छन् । खाँण पक्राउ परेसँगै यो प्रकरणमा जोडिएका थप हाई प्रोफाइल व्यक्तिहरू पनि तानिने सम्भावना बढेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा र खाँण पत्नी मञ्जु खाँणले पनि ठगी रकम लेनदेनको विषयमा कुराकानी गरेको अडियो सार्वजनिक भएको छ । यद्यपी आरजु राणाले भने उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको भन्दै साइबर ब्यूरोमा उजुरी दिएका छन् ।











