
काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाएको छ । गठबन्धनमा भएको सहमतिअनुसार दुई मन्त्रालय पाएको माओवादीले म्याग्दीका रेशम जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य सुशीला सिम्खडा यसअघि नै बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त भइसकेका छन् ।
म्याग्दी प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित जुग्जाली अघिल्लो सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए । गठबन्धन फेरिएपछि दुई महिना नबित्दै माओवादी केन्द्र प्रदेश सरकारबाट बाहिरिएको थियो ।
कांग्रेस नेतृत्वको नयाँ सरकारमा पुनः जुग्जालीलाई नै मन्त्री बनाउने माओवादीले निर्णय गरेको हो । जुग्जाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री र सिम्खडा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बन्ने माओवादीका प्रदेश सांसद कुसुम बुढाले जानकारी दिए । उनका अनुसा आजै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना रहेको छ ।
‘माओवादी केन्द्रले मन्त्रीको नाम टुङ्ग्याइसकेको छ । कांग्रेसभित्र आकाङ्क्षी धेरै भएकाले मिलाउन समय लागेको देखन्छि । गठबन्धन दलहरूबीच मन्त्रालयको बाँडफाँट मिलिसकेको छ, खाली मन्त्री छान्न ढिलाइ भएको हो,’ उनले भने ।
सातमध्ये मुख्यमन्त्रीसहित चार मन्त्रालय कांग्रेसले, दुई माओवादी केन्द्रले र एक नेकपा (एकीकृत समाजवादी)ले पाउनेछ । यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७४ को नियम ८ अनुसार मन्त्रालयको कार्यविभाजन हेरफेर गरेको थियो ।
नयाँ कार्यविभाजनअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएको छ । अबदेखि शान्ति सुरक्षा, विपद् व्यवस्थापन, प्रदेशसभा मामिला, कानुन, सञ्चार आदिको कार्य जिम्मेवारीसमेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्हाल्नेछ ।
कृषि तथा जलस्रोत मन्त्रालयले कृषि, पशुपक्षी, ऊर्जा, सिँचाइ र खानेपानी हेर्दै आएकामा अब ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र कृषि तथा भूमि व्यवस्था मन्त्रालय छुट्टाछुट्टै रहनेछ । आर्थिक मामिला मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय भने यथावत कायम छन् ।
मन्त्रालयको कार्यविभाजन हेरफेर भइसकेकाले अब सरकारले छिट्टै पूर्णता पाउने सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले बताए । हाल मन्त्रिपरिषद्मा मुख्यमन्त्री पाण्डेसहित दुई बिनाविभागीय मन्त्रीमात्र रहेका छन् ।











