Logo
Logo

एमालेभित्र उठ्यो संघीयताविरोधी आवाज


3.1k
Shares

काठमाडौं । नेकपा एमालेमा संघीय प्रणालीमाथिको बहस औपचारिक प्रवेश भएको छ । पार्टीको जारी केन्द्रीय समिति बैठकमा प्रभावशाली दुई केन्द्रीय सदस्य गोकुल बास्कोटा र महेश बस्नेतले शुक्रबार संघीय प्रणाली देशहितमा नभएको भन्दै पार्टीले नयाँ दृष्टिकोण बनाएर जानुपर्ने आवाज उठाए ।

समहूगत छलफलका क्रममा उनीहरुले संघीयता खारेजी हुनुपर्ने बताएका हुन् । यसअघि पनि उनीहरुले संघीयता खारेज हुनुपर्ने आवाज उठाउँदै आएका थिए । तर, पार्टीमा भने पहिलोपटक उनीहरुले संघीयता खारेजी हुनुपर्ने प्रस्ताव पेश गरेका हुन् । जनमानसमा नै संघीयताप्रति वितृष्णा उब्जिएकाले पार्टीले अब संघीयताको विपक्षमा आफूलाई उभ्याउनुपर्ने उनीहरुको तर्क छ ।

नेता बस्नेतले जनभावनालाई बुझेर पार्टीले आफ्नो दृष्टिकोण सच्याउनुपर्ने बेला आएको बताउँदै संघीयताले देशको व्ययभार बढाएको तर केही उपलब्धी नदिएको बताए ।

संघीय संसदको दोस्रो ठूलो दल एमालेमा पछिल्लो समय संघीयता विरोधी अभिमत बढ्दै गएको छ । अनौपचारिक रुपमा नेताहरुले संघीयता नेपालका लागि हितकर नभएको धारणा राख्दै आएपछि पार्टीका बैठकमा भने कमै नेताहरुले मात्रै संघीयताको विरोध गर्दै आएका छन् ।

संघीयताको विरोध गर्दै आएकाहरु अध्यक्ष केपी शर्मा ओली निकटका बढी रहेका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा संघीयता विरोधी आवाज उठाउन केन्द्रीय सदस्यद्वय महेश बस्नेत र गोकुल बास्कोटा पनि अध्यक्ष ओली निकटका हुन् ।

प्रतिक्रिया दिनुहोस्