काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देश र जनतामाथि गद्धार गर्नेहरूलाई जेलमा हाल्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा बाहिङ किरात मुलुखिमद्वारा आयोजित कार्यक्रममा मन्त्री किरातीले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली सभ्यतामाथि नै धोका भएको बताए ।
नेपालीलाई सुख, नेपालको विकास र समृद्धि होस् भनेर लोकतन्त्र ल्याएको भन्दै मन्त्री किरातीले अहिले लोकतन्त्रमा लुटतन्त्र चलेको टिप्पणी गरे ।
मन्त्रीले किरातीले अब ढिलो नगरी ठूलाठूला भ्रष्टाचारका फाइलहरू खोल्नुपर्ने र यसमा आम नागरिकबीच एकता हुनुपर्ने बताए ।
हिजो देशको गृह प्रशासन चलाउनेहरू नागरिकलाई शरणार्थी बनाएकै कारण जेलमा रहेको उनले बताए । अहिलेको शत्रु भ्रष्टाचार र अशिक्षा भएकाले यसको अन्त्य हुनुपर्ने उनले उल्लेख गरे । कार्यक्रममा मन्त्री किरातीले बाहिङ–नेपाली–अंग्रेजी शब्दकोषको विमोचन गरेका थिए ।











