काठमाडौं । केही दिनयता भ्रष्टाचारविरुद्ध आन्दोलन चर्किँदै गएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेताहरुकै संलग्नता देखिएपछि विभिन्न संघसंस्थाले दैनिक भ्रष्टाचार ढाकछोपविरुद्ध आन्दोलन गर्न थालेका छन् ।

यसैक्रममा शनिबार काठमाडौंको माइतीघर र नक्सालमा भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागी नागरिक अगुवा तथा चिकित्सक डा. गोविन्द केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरु पनि जोडिएको आशंका गर्दै दोषी देखिए कसैलाई पनि छाड्न नहुने बताए ।
विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘भुटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन । छानबिन विस्तृत हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, शीर्ष नेता पनि दोषी पाइयो भने उनीहरुलाई कारबाही हुुनपर्छ । देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेका नेताहरु फरार हुनुले पनि उनीहरु दोषी रहेको आशंका गर्न सकिने उनले बताए । ‘निर्दोष हो भने प्रहरीमा उजुरी आउँथ्यो, उनीहरु भाग्न खोज्नु र भाग्नु भनेका स्वतः प्रष्ट हुन्छ’ उनले भने ।











