Logo
Logo

एमालेले देशैभर छोराछोरी अभियान चलाउने


567
Shares

काठमाडौं । नेकपा एमालेले वार्षिक कार्ययोजना तयार पारेको छ । तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले पार्टीको सङ्गठन विस्तार र शुद्धीकरण कार्यअभियान सञ्चालन गर्नका लागि कार्ययोजना तयार पारेको हो ।

ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले स्थायी कमिटी बैठकले तयार पारेको वार्षिक कार्ययोजना केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको जानकारी दिए ।

मिसन ग्रासरुट अभियानको नौवटै प्रदेशको समीक्षा प्रतिवेदनको आधारमा वार्षिक कार्ययोजना तयार पारेको हो । वार्षिक योजनाअनुसार पार्टीले पार्टी सदस्यता शुद्धीकरण र विस्तारको कार्यक्रम सञ्चालन गर्ने सञ्चालन गर्ने भएको छ ।

एमालेले मिसन ग्रासरुट अभियान सकिए पनि सदस्यता वितरण र नवीकरण अझ बाँकी रहेकाले सङ्गठन विस्तार र शुद्धीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

गुरुङका अनुसार कार्ययोजनाअनुसार पार्टी सदस्यता शुद्धीकरण अझ व्यापक बनाइने छ । एमाले आगामी जेठदेखि चैतसम्म कार्ययोजनाअनुसार सङ्गठन विस्तार र शुद्धीकरण अभियान सञ्चालन गर्ने छ । एमाले असार १५ गतेसम्म जिल्ला कमिटीले पार्टी सदस्यता नवीकरण गर्ने र नवीकरण भौतिक उपस्थितिमा मात्र गर्ने जनाएको छ ।

नयाँ सदस्य र नवीकरण आगामी असार मसान्तसम्म प्रदेश कमिटीमार्फत विवरण केन्द्रमा पठाउने निर्देशन दिएको छ । यस्तै नवीकरण विवरणसँगै नवीकरण नभएका र सदस्यताबाट हटाउनेको नाम पनि पठाउने भनिएको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए ।

अभियानअनुसार मिसन ५१ प्रतिशत पूरा गर्नका लागि प्रत्येकमा वडामा कुल मतदाता सङ्ख्याको तीन प्रतिशत पार्टी सदस्यता विस्तार गर्ने उनले बताए । ‘पार्टी सदस्यता मतदाताको सङ्ख्याको औषतरूपमा सात प्रतिशत रहेको छ । तर कतिपय पालिकामा न्यून रहेकाले प्रत्येक वडामा कुल मतदाताको तीन प्रतिशत विस्तार गर्ने योजना रहेको छ’, उनले भने ।

मिसन ग्रासरुट अभियानका क्रममा कतिपय कमिटी भद्दा भएर बैठक बस्दा गणपूरक सङ्ख्या पनि नपुगको देखिएको कमिटीलाई सानो बनाउने निर्णय गरेको छ । पार्टीले कमिटीमा रहेर बिनाकारण तीनपटक अनुस्थित हुनेलाई कमिटीबाट बिदा गर्न र खाली भएका कमिटीमा नयाँ सदस्य नथप्न पनि निर्देशन दिएको उनले बताए ।

‘बैठकमा आउने काम गर्न नदिन, ती कमिटीमा रहेकाको सुधार नभए कमिटीबाट बिदा गर्ने निर्णयसमेत गरेको छ’, उउनले भने, ‘मिसन ग्राससरुट अभियान जिम्मेवारी तोकिएको पूरा नगर्ने र कुनै जानकारी नदिई अनुपस्थिति हुनेलाई सम्बन्धित कमिटीले स्पष्टीकरण सोध्ने निर्णयसमेत गरिएको छ ।

प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

एमालेले पार्टीका नेता तथा कार्यकर्ताका लागि वैचारिक र राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । प्रशिक्षण कार्यक्रम पार्टी स्कुल विभागले तयार पारेको पाठ्यक्रमका आधारमा सञ्चालन गर्नेछ ।

एमालेका उपमहासचिवसमेत रहेका नेता गुरुङका अनुसार उच्च प्रशिक्षण केन्द्रीय कमिटी र मध्यम प्रशिक्षण प्रदेश कमिटी र आधारभूत प्रशिक्षण जिल्ला कमिटीलाई दिइने छ । प्रशिक्षण डिजिटलरूपमा पार्टीको ‘एक्सन रुम’बाट गरिने छ ।

मङ्सिरमा पनि अभियान सञ्चालन

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टी सङ्गठन विस्तार गर्नका लागि आगामी मङ्सिरमा मध्यपडाडी लोकमार्ग तथा हुलाकी राजमार्ग केन्द्रित गरेर अभियान सुरु गर्ने जानकारी दिए ।

छोराछोरी अभियान

यस्तै छोराछोरीलाई पार्टीमा आबद्ध गर्नका लागि छोराछोरी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । ‘हिजो बुवाआमा राजनीतिमा हुँदा छोराछोरी स्वतः राजनीतिमा आउने गर्दथे’, उनले भने, ‘तर आज बुवाआमा राजनीतिमा छन् भने छोराछोरी राजनीतिमा नआउने प्रवृत्ति विकास भएको छ । के कारणले छोराछोरी यो भइरहेको छ । हामीले आफ्नो परिवारमा पनि राजनीतिक प्रशिक्षण गर्न सकिरहेका छैनौँ भनेर छोराछोरी अभियान सञ्चालन गर्न गइरहेका छौँ ।’

पार्टी गतिविधि पार्टी कार्यालयबाट

एमालेले पार्टीका सबै गतिविधि सबै कार्यक्रम पार्टी कार्यालयमा केन्द्रित गर्ने निर्णय गरेको छ । पार्टीको संस्थागत विकासमा सहयोग पु¥याउनका लागि वडादेखि केन्द्रसम्म सबै पार्टीको गतिविधि पार्टी कार्यालयबाट गर्ने निर्णय गरेको नेता रिजालले जानकारी दिए ।

पार्टीका जिम्मेवार नेताहरू पार्टी कार्यालयमा नियमितरूपमा उपस्थिति हुने गरी केन्द्रदेखि वडा कार्यालयबाट पार्टीका गतिविधि गर्ने निर्णय गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्