
काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख दलका शीर्ष नेताहरूको बैठक जारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल चलिरहँदा बैठकमा प्रमुख पार्टीका संसदीय दलका उपनेता, सचेतक पनि थपिका छन् ।
‘बैठकमा तीन दलका उपनेता, प्रमुख सचेतक, सचेतकहरू पनि हुनुहुन्छ, छलफल जारी छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण जानकारी दिए ।
बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत उपस्थित छन् ।
सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । आजको छलफल मुख्यतः सरकारको नीति तथा कार्यक्रममै केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि प्रमुख दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिँदो छ। यसअघि पनि तीन दलका शीर्ष नेताहरुबीच पटक पटक भेटवार्ता भएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण लगायत दर्जन बढी पक्राउ परिसकेका छन् । पूर्व उपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारीपछि फरार रहेका छन् ।











