Logo
Logo

शेरबहादुर सुहाङ्ग ३ दिनदेखि बेपत्ता, अपहरण गरिएको आशंका


20.6k
Shares

काठमाडौं । झापाका एक युवक तीन दिनदेखि बेपत्ता भएका छन् । बुद्धशान्ति गाउँपालिका-४ का ३३ वर्षीय शेरबहादुर सुहाङ्ग वैशाख ३१ गते रातिदेखि सम्पर्कविहिन भएका हुन् । उनका बुबा खम्बबहादुरले छोराको खोजी गरिदिन इलाका प्रहरी कार्यालय धुलाबारीमा निवेदन दिएका छन् । तर, तीन दिनसम्म पनि प्रहरीले उनलाई भेट्न सकेको छैन ।

शेरबहादुर सुहाङ्ग

बुबा खम्बबहादुरका अनुसार बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा नेपाल विद्यार्थी संघ र तरुण दलले भ्रष्टाचारको विरोधमा र्याली निकालेको थियो । उक्त प्रदर्शनबारे उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए । स्टाटस लेखेको विरोधमा बैशाख ३१ गते राति ८/९ जनाको समूहले हत्या गर्ने धम्की उनको घर पुगेको थियो ।

उनका बुबा खब्बहादुरका अनुसार स्थानीय दिलकुमार लावाङ (करण), नवराज लिम्बू, शुक्रराज लिम्बु र सुमन लिम्बूसहित ८÷९ जनाको टोलीले राति साढे ११ बजे उनको घर घेरेर ढुंगामुढा समेत गरेका थिए । खम्बबहादुरलाई ‘छोरा निकाल मार्छु’ भन्दै ८÷९ जनाको समूहले धम्की पनि दिएको थियो ।

खम्बबहादुरले प्रहरीलाई दिएको निवेदन आफ्नो घर घेराउ हुँदा शेरबहादुर भने साथी कुलबहादुर गौतमसँग बाहिर थिए । खोजी गर्दै घरमा पुगेको टोलीले उनलाई नभेटेपछि घर तोडफोड गरी फर्किएको खम्बबहादुरले प्रहरीलाई दिएको निवेदनमा उल्लेख छ । सोही रातदेखि बेपत्ता भएका सुहाङ्ग अझै सम्पर्कविहिन छन् ।

मोटरसाइकल, घडी र कपडा फेला
प्रहरीले घरदेखि केही पर खानीगौडा झोलुङ्गे पुलमा उनले प्रयोग गर्ने मोटरसाइकल चावबीसहित वेवारिसे अवस्थामा फेला पारेको छ । बाइक भेटिएको स्थान नजिकै उनले लगाएको टि–सर्ट र घडी पनि भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मले भने यसबारे अनुसधन भइरहेको र बेपत्ताको खोजि तिव्र पारिएको बताए । उनका अनुसार केहि व्यक्तिहरुसँग सोधपुछ गर्ने कार्य भइरहेको छ ।

सुहाङ्को अपहरण गरि बेपत्ता पारिएको आशंका गरिएको छ । प्रहरीले मोटरसाइकल, घडी र लगाएको कपडा भेटेका कारण उनलाई आक्रमण गरी बेपत्ता पारेको हुनसक्ने आशंका गरिएको हो ।

पछिल्लो समय प्रदेश-१ को नाम कोशिविरुद्ध पहिचान पक्षधरहरुको आन्दोलन जारी छ । उनी विभिन्न स्थानमा भएका आन्दोलनहरुमा पनि सहभागी जनाउँदै आएका छन् ।

उनी झापास्थित बुद्धशान्ति गाउँपालिका लिम्बूवान भोलेन्टियर्सका इन्चार्ज र प्रदेश-१ पुनः नामङ्कन संयुक्त संघर्ष समिति पालिका सदस्य समेत हुन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान प्रान्तिय मञ्चले २०६२ सालदेखि गठन गरेको यस युवा संघठनले लिम्बूवान भूमि मुक्तिका लागि निस्वार्थ सेवा लगायतका सकारात्मक कार्यहरु गरिरहेको छ ।

दोषीलाई कडा कारबाही गर्न माग
शेरबहादुरलाई बेपत्ता पारिएको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले उनको सकुशल अपहरणमुक्त गरि दोषीलाई कडा कारबाहीको माग गरेको छ ।

‘झापा बुद्धशान्ति-४ बाट अपहरण गरि बेपत्ता पारिएका लिम्बुवान भोलेन्टियर्स (एल.भी.) इन्चार्ज शेर बहादुर सुहङ, ३२ बर्ष (पूर्ण सुहङ ‘मिङसो’लाई शकुशल अपहरण मुक्त गरि दोषीलाई कडा कारबाही गरियोस’, कुमार लिङ्देनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मञ्चले यस घट्नाबारे प्रहरी प्रसासनले हेलचेक्र्याई गरेको भन्दै आपत्ति समेत जनाएको छ । ‘घुमाउरो पाराले दोषी उम्कने बाताबरण निर्माणप्रति हामि खेद प्रकट गर्दै घोर भर्तसना गर्दछौँ । झापा जस्तो सुगम र हरेक कुराले अग्रणी जिल्लाको प्रसासनबाट संघीय लोकतान्त्रिक रास्ट्रीय मंच-संघीय लिम्बुवान प्रान्तीय मंच को नेताको जीवन माथि यस्तो उदासिन ब्यबहार र खेलबाड होला भन्ने हामीले सोचेको थिएनौ, मंच जस्तो बोल्न सक्ने लडन सक्ने संगठन प्रति झापा प्रसासनले यो हदको बेवास्ता गर्छ भने अरु सर्बसाधारण प्रति यो उपनिबेशी एकात्मक प्रसासनले के न्याय देला ?’ विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्