
पाल्पा । राष्ट्रिय भूमि आयोग पाल्पाले रामपुर नगरपालिका भित्रका ३ सय ५४ अव्यवस्थित जग्गाधनीलाई प्रमाणपत्र (लालपुर्जा) वितरण गरेको छ । ५० वर्ष अघिदेखिको अव्यवस्थित बसोबासीको समस्या रहेको रामपुरमा आयोगले दोस्रो चरणमा बुधबार सो संख्यामा जग्गाधनीलाई पुर्जा वितरण गरेको हो ।
आयोगले पहिलो चरणमा गत पुस ८ गते २ सय ६२ जना जग्गा धनीलाई पुर्जा वितरण गरेको थियो । कार्यक्रममा मुख्य पाहुना राष्ट्रिय भूमि आयोगका केन्द्रिय उपाध्यक्ष एवं प्रवक्ता नहेन्द्र खड्काले अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गर्दै अबको २ वर्ष भित्र नेपाललाई भूमिहिनता र सुकुम्बासी मुक्त बनाउने गरी आयोगले आफ्ना गतिविधि सञ्चालन गर्दै आएको बताए ।
आउने २ वर्ष भित्र सधैंका लागि भूमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको भूमि सम्बन्धी समस्यालाई अन्त्य गर्न, नेपाललाई भूमिहिनता र सुकुम्बासी मुक्त देश बनाउन लागि रहेको बताएका छन् । उनले देशमा ५० लाख भन्दा धेरै नागरिक भूमि हिनताको अवस्थामा रहेका छन् ।
अहिले देशैभर बाट साढे १३ लाख भन्दा बढी जनताले राष्ट्रिय भूमि आयोग समक्ष निवेदन पेश गरेका छन् । २५ सय लालपुर्जा वितरण भैरहेको छ । रामपुर नगरका भुमिहिन दलित ५७, भुमिहिन सुकुम्बासी ६१ ज्ना र अव्यवस्थित बसोबासी ४ सय २७ जनाको इन्ट्री भएको बताए ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाका अध्यक्ष मोहन लाल गैरेले पहिलो र दोस्रो चरणमा गरी हाल सम्म रामपुरमा ६ सय १६ वटा लालपुर्जा वितरण भएको बताए । रामपुरको अव्यवस्थित बसोबासीको समस्या धेरै पहिले देखिको भएकाले प्राथमिकताका साथ अघि बढाएको जानकारी दिए ।
उनका अनुसार ६ सय १६ अव्यवस्थि जग्गाधनी पूर्जा वितरण बाट १० करोड २४ लाख ९ हजार ६ सय ३७ राजस्व संकलन भएको बताए । २०५५ साल सम्ममा विक्री वितरण भएका रामपुर नगरपालिका ५, ६ र ७ का ७ सय ८३ वटा घडेरी मध्ये पहिलो र दोस्रो चरणमा गरी पुर्जा वितरण गरेको हो ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाका विज्ञ सदस्य कृष्ण प्रसाद अधिकारीले सबैको साथ र सहयोगले हालसम्मको उपलब्धी प्राप्त भएको बताए । रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले नगरपालिका आयोगलाई साथमा लिएर अघि बढेको बताउँदै प्राप्त जग्गाको श्रेस्ता कायम छिटो गर्न अनुरोध गरे ।
रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेको स्वागत र योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा भएको हो ।











