Logo
Logo

संसदलाई ओलीले ढाँटे


11k
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि नक्कली शरणार्थी प्रकरणबारे संसदमा बोल्ने बताएका थिए । उनले बैशाख २८ गतेको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै जेठ ४ गते संसदमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्ने बताएका हुन् । तर, बिहीबार उनी संसद बैठकमै उपस्थित भएनन् ।

नक्कली शरणार्थी प्रकरणबारे ओलीले के बोल्लान् भनेर सुन्न आतुर रहेका सांसदहरु ओली बैठकमै उपस्थित नभएपछि जिल्ल परे । धेरैलाई लागेको थियो, ‘ओलीले नक्कली शरणार्थी प्रकरणबारे केही रहस्य खोल्नेछन् ।’ नक्कली शरणार्थी प्रकरणमा पार्टीका सचिव टोपबहादुर रायमाझी पक्राउ परेसँगै आक्रोशित भएका ओलीले बिहीबार स्वास्थ्यमा अस्वथ्य भएको उपस्थित हुन नसकेको बताउँदै सुधार आएपछि त्यस विषयमा बोल्ने बताएका छन् ।

बिहीबारको संसद बैठकमा उपस्थित नभएकोबारे उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । उनले भनेका छन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरू संसद समक्ष राख्ने मैले यसअघि बताएको थिएँ । स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसदमा बोल्ने नै छु ।’

बिहीबारदेखि प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरूबीच सवाल–जवाफ गर्ने प्रचलन सुरू गरेको ठीक भएको समेत उनले बताएका छन् । अध्यक्ष ओलीले प्रश्नहरु दु्ई किसिमको भएको र एकथरी मात्र उत्तर दिए पुग्ने बताएका छन् ।

ओलीले भनेका छन्, ‘प्रश्नहरू दुई किसिमका हुन्छन् । एकथरी प्रश्नको उत्तर मात्र दिए पुग्छ । देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तर मात्र दिएर पुग्दैन, जनतालाई अनुभूति हुनेगरी परिणाम दिनुपर्छ ।’ उनले सांसदहरूले संसदमा प्रश्न गर्दा प्रत्येक नागरिकले त्यसलाई आफ्नो प्रश्न ठान्न सक्ने हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्