
काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र अर्थमन्त्रीले संघीय सरकारका अर्थमन्त्री प्रकाशशरण महतसँग भेटवार्ता गरेका छन् ।
आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटको विषयमा आइतबार बिहान सिंहदरबार पुगेर कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा र अर्थमन्त्री बेदराज सिंहले अर्थमन्त्री महतसँग भेटवार्ता गरेका हुन् ।
अर्थ मन्त्रालयमा भएको भेटमा उनीहरुबीच केन्द्र सरकारको नीति तथा कार्यक्रम, बजेट र त्यसको प्राथमिकता र कर्णाली प्रदश सरकारको नीति, कार्यक्रम र बजेटका विषयमा छलफल भएको छ ।
मुख्यमन्त्री शर्मा र सिंहले कर्णालीको अवस्थाबारे पनि जानकारी गराएका छन् । साथै उनीहरुले कर्णालीको विकास र परिवर्तनका लागि अग्रसर भइदिन पनि मन्त्री महतसँग आग्रह गरेका छन् ।
मुख्यमन्त्री शर्माले कर्णालीमा रहेका राष्ट्रिय गौरवका आयोजनामा केन्द्र सरकारको ध्यानाकर्षण गराउनुका साथै कर्णाली विकासको सुरुवाती चरणमा रहेको स्मरण गराए । सो क्रममा उनले प्रदेशमा भएका राष्ट्रिय योजना प्रदेशको सामर्थ्यले सम्भव नहुने बताए ।
साथै हाल निर्माणाधीन ठुला परियोजनालाई समयमै सम्पन्न गर्ने वातावरण निर्माणका लागि पनि उनीहरुले संघीय सरकारसँग अनुरोध गरेका छन् ।











