काठमाडौं । जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेको मुद्दामा पीडितको जन्मदर्ता र जन्मिएको प्रमाण पत्रको सक्कल फाइल झिकाउन आिदेश दिएका छ ।
न्यायाधीश फणिन्द्र पराजुलीको इजलासले उक्त मुद्दामा गौशाला २६ को जन्मदर्ता र जन्मिएको प्रमाण पत्रको सक्कल फाइल स्थानीय तह र अस्पतालबाट मगाउने आदेश गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले बताए ।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध २१ भदौमा एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।

प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए । घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो । मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए ।
विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परेपनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउने सर्तमा पुस १८ गते उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो ।
उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्तको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए । क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए । त्यसको सुनुवाइ गर्दै सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश सदर गरेकाे थियो ।














