काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कागजको खोस्टा जस्तो नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

आइतबार प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमको गन्तव्यहीन भएको भन्दै पुनर्लेखनको सुझाव दिएका थिए । तर, यसैबला अध्यक्ष नेपालले सरकारको नीति तथा कार्यक्रमका कागजको कोस्टो नभएको भन्दै अहिलेको समस्यालाई समाधान गर्न सक्ने दावी गरेका हुन् ।
अध्यक्ष नेपालले भने, ‘सरकारको नीति तथा कार्यक्रम यसो हेर्दा यो कागजको खोस्टाजस्तो त लागेन । कुनैपनि दस्तावेज आफैंमा पूर्ण हुँदैन । यसका लागि छलफलको आवश्यकता पर्छ । सुझाव सल्लाह पनि चाहिन्छ । यो नीति तथा कार्यक्रम पोजेटिभ छ । देशको समस्यालाई समाधान गर्नसक्छ ।’ अहिले देशमा देखिएको समस्या समाधान गर्न सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने उनको भनाइ छ ।











