Logo
Logo

ओलीलाई माधव नेपालको प्रश्न- घरघरमा ग्यास खै ? 


2.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा घोषणा गरेअनुसार घरघरमा ग्यास किन नआएको भन्दै प्रश्न गरेका छन् ।  

सोमबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता नेपालले ओलीले आफू प्रधानमन्त्री हुँदा घोषणा गरेको काम पूरा हुन नसक्नुको जवाफ माग गरेका हुन् ।

केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रमको विवेचना गर्दै माधवले प्रश्न गरे–‘घरघरमा ग्यास, खै ग्यास ? यस्तोमा कहाँ कहाँ त्रुटि भयो ? टावरका कुराहरू आइरहेका छन् । मलेसियाका टावर, खाडी क्षेत्रका टावर । टावरको आवश्यकता छ भने कहाँ ? धानको बाला हेर्ने टावर ?’

आइतबार सरकारको नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिँदै एमाले अध्यक्ष ओलीले आधुनिकतामा भ्यूटावर आवश्यक रहेको बताएका थिए । आफू नेतृत्वको सरकारले पर्यटन विकासका लागि टावर निर्माणको कार्यलाई तिव्रता दिएको तर त्यसको आलोचना भएको भन्दै ओलीले आलोचना गरेका थिए ।

अध्यक्ष माधवले ओलीले हावादारी कुरा गरेको बताए । ओलीप्रति कटाक्ष गर्दै उनले भने– ‘आफ्नो पालामा कति हावादारी योजनाहरू आए ? भनियो तिथिमिति तय गरेर यो मितिमा टिकट काट्नुहोस । ठ्याक्क हवाइ रेल चढ्नु । बिजुलीको रेल चलाइनेछ, यस्ता हावादारी कुरा ल्याउनु हुँदैन ।’

उनले ओलीलाई हावादार सपना नदेख्न सुझाव पनि दिए । उनले भनेका छन्, ‘सपना देख्न सक्नुहुन्छ । तर सपना हावादारी नदेख्नुस्, यथार्थवादी बन्नुहोस्, सपना नदेख्ने मान्छेले, आँधो मान्छेले आफ्नो मिसन बझ्न सक्दैन । मिसन तय नभएको मान्छेले मिसन पूरा गर्न पनि सक्दैन । तर सपनालाई विपनामा रूपान्तरण गर्न यथार्थवादी भएर पनि चल्नुपर्छ ।’

उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कागजको खोस्टाजस्तो नभएको दाबी गरे । उनले भने, ‘यसो हेर्दा यो कागजको खोस्टाजस्तो त लागेन । कुनै पनि दस्तावेज आफैँमा पूर्ण हुँदैन । यसका लागि छलफलको आवश्यकता पर्छ । सुझाव सल्लाह पनि चाहिन्छ । यो नीति तथा कार्यक्रम पोजेटिभ छ । देशको समस्यालाई समाधान गर्नसक्छ ।’

आइतबारको छलफलमा एमाले अध्यक्ष ओलीले सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रम कागजको खोस्टाजस्तो भएको टिप्पणी गर्दै पुनर्लेखन गर्न माग गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्