
काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरनार्थी बनाई तेस्रो मुलुक पठाउने भन्दै करोडौं रुपैया ठगी गरेको आरोपमा प्रहरीले हाइप्रोफाइलसहित १६ जनालाई पक्राउ गरेको छ ।
उनीहरूममिथ लामो अनुसन्धानगरी जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ र फरार रहेका गरी ३० जनाविरुद्ध बुधबार मुद्दा दायर गरेको छ ।
उनीहरूलाई ठगी, किर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधमा मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रवक्ता लक्ष्मण उपाध्याय घिमिरेले बताएका छन् । वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको छ ।
उक्त ठगी प्रकरणमा पुर्वउपप्रधानमन्त्री, पुर्वगृहमन्त्री, तत्कालीन गृहसचिव, सांसदलगायत पक्राउ परेका छन् । उनीहरुविरुद्ध बुधबार मुद्दा दायर भएपछि अब अदालती प्रक्रिया शुरू हुने प्रवक्ता घिमिरेले बताए ।
अदालतमा गोलाप्रथाबाट न्यायाधीशको इजलास चयन गरी सबै प्रतिवादीको बयान शुरू हुन्छ । उनले भने, ‘बयान सकिएपछि थुनछेक बहस शुरू हुन्छ। थुनामा राखेरै बाँकी कारबाही अगाडि बढाउने कि धरौटीमा रिहा गरेर गर्ने भन्ने कुरा त्यहाँबाट तय हुन्छ।’ थुनछेकको आदेश आएपछि मुद्दाको अर्को प्रक्रिया अगाडि बढ्ने उनी बताउँछन् ।
आरोपितहरूमाथि लगाइएका अभियोगमध्ये सबैभन्दा धेरै सजाय र जरिवाना ठगी र किर्तेसम्बन्धी कसुरमा रहेको छ । ती दुवै अभियोगमा सात/सात वर्ष जेल सजाय र ७०/७० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ।
राज्यविरुद्ध अपराधमा पाँच वर्ष जेलसजाय र ५० हजार रुपैयाँसम्म जरिवानाको कानूनी व्यवस्था छ। त्यसैगरी सङ्गठित अपराधको कसुरमा पनि पाँच वर्ष जेलसजाय र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।
शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा एमाले का निलम्बित सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव (निलम्बित सचिव) टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा.इन्द्रजीत राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् ।
पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना अझै फरार छन् ।











