काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोले अवैध लागुऔषध खैरो हेरोईन कारोबार गर्ने नेटवर्कको गिरोहसहित ६ जनालाई पक्राउ गरेको छ । ब्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यकामा खैरो हेरोइनको अवैध कारोबार भइरहेको सूचनाका आधारमा अनुसन्धान गर्दा खैरो हेरोईन कारोबार गर्ने नेटवर्कको गिरोहसहित ६ जनालाई पक्राउ गरेको जनाएको हो ।

प्रहरीले झापा विर्तामोड घर भएका किरण कन्दङवालाई बौद्धको एक होटलबाट खैरो हेरोइन २० ग्राम र ७ लाख ४० हजारसहित पक्राउ गरेको थियो । अनुसन्धानको सिलसिलामा उनको कारोबारको नेटवर्क पहिल्याउने क्रममा झपाका बिजय लिम्बू, माधव मेचे, विनोद लिम्बू र भारत दार्जलिङका शिव घोष र श्यामली सोरेनलाई पक्राउ गरिएको व्युरोका प्रवक्ता प्रहरी उपरिक्षक चक्रराज जोशीले जानकारी दिए । खैरो हिरोइन भारतबाट झापा हुँदै काठमाडौं आइपुग्ने गरेको देखिएको उनले बताए ।
त्यस्तै, ब्युरोले ३ किलो ६ सय ग्राम लागुऔषध चरेससहित थाईल्याण्ड जान लागेका सिन्धुपाल्चोक घर भएका तेम्वा शेर्पालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको जनाएको छ ।











