काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणको क्रममा नेपालको हितलाई केन्द्रबिन्दुमा राख्ने बताएका छन् । आइतबार सिंहदबारमा पूर्वप्रधानमन्त्री र दलका नेताहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सो प्रतिवद्धता जनाएका हुन् ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, बाबुराम भट्टराई, लोसपा अध्यक्ष महन्थ ठाकुर, रास्वपा सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री एनपी साउद, पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रकाश चन्द्र लोहनीलगायत सहभागी छलफमा प्रधानमन्त्री प्रचण्डले ‘आफ्नो भारत भ्रमण नेपालको हितमा केन्द्रित हुने’ प्रतिवद्धता जनाएको राप्रपा नेता लोहनीले बताए ।
प्रधानमन्त्रीको भनाई उदृत गर्दै लोहनी ‘म तपाइँहरुले भनेको सुनाप्रति संवेदनशिल छु । म नेपालको हितलाई नै मध्यनजर गरेरमात्रै अघि बढ्छु’ भन्नुभएको छ ।
छलफलमा सहभागी पूर्वप्रधानमन्त्री तथा नेताहरुले नेपालको राष्ट्रिय हित, राष्ट्रिय स्वार्थ र नेपाली जनताको आत्मसम्मानमा केन्द्रित भएर भएर कुराकानी गर्ने सुझाव दिएका थिए । प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको भारत भ्रमणको तालिका यसअघि नै सार्वजनिक भइसकेको छ ।











