विराटनगर । कोशी प्रदेश नामकरण खारेज गर्न माग गर्दै आइतबार विराटनरमा दिनभर प्रदर्शन भएको छ । प्रदेश सरकारको बजेट अधिवेशन सुरु भएपछि पहिचान पक्षधर कोशी नामविरुद्ध प्रदर्शनमा उत्रिएपछि दिनभर तनावग्रस्त बन्यो ।

आइतबार विराटनगरस्थित प्रदेशसभाको हलभित्र बैठक चलिरहँदा बाहिर सडकमा आन्दोलनकारी र प्रहरीबीच झडप भइरहेको थियो । प्रदर्शनकारीले प्रदेशसभा घेराउ गर्न जानेक्रममा निषेधित क्षेत्र तोडेपछि प्रहरीले पानीको फोहोरा, हवाइ फायर र अश्रुग्याँस प्रहार गरेको थियो । स्थिति नियन्त्रणमा क्रममा आन्दोलनकारीबीच दोहोरो झडप भएको थियो । प्रदर्शनकारीले विराटनगरस्थित देवकोटा चोकमा निषेधित क्षेत्र तोडेर प्रदेशसभातर्फ जाने क्रममा झडप भएको हो ।

प्रदर्शनमारीले भाटा, ढुंगा, गुलेली, बोत्तलले प्रहरीमाथि आक्रमण गर्दै प्रदेशसभातर्फ अगाडि बढेका थिए । झडपमा परी ५८ जना घाइते भएका छन् । नेपाल प्रहरीका ३०, सशस्त्र प्रहरीका १६ र प्रदर्शनकारी १२ गरी ५८ जना घाइते भएका प्रहरीले जनाएको छ । उनीहरुको विराटनगरस्थित कोशी, न्यूरोलगायतका अस्पतालमा उपचार भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र यादवले बताए ।
पहिचान पक्षधरहरु आइतबार बिहानै निषेधित क्षेत्र तोडेर प्रदेशसभातर्फ जान खोजेका थिए । त्यसक्रममा प्रहरीले ४५ जनालाई नियन्त्रणमा लिइएको थियो । त्यसपछि विभिन्न जिल्लाबाट विराटनगर आएका आन्दोलनकारीले देवकोटाचोकमा निषेधित क्षेत्र तोडेर प्रहरीमाथि आक्रमण गर्दै प्रदेशसभा घेराउ गर्ने प्रयास गरेका थिए । स्थिति नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरासँगै ३८ राउण्ड हवाइ फायर गरेको प्रजिअ यादवले बताए ।

प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा समेत ढुंगामुढा गरेर मन्त्रालयका झ्यालका सीसा र मन्त्रालय परिसरमा रहेका मन्त्री निर्मला लिम्बु चढ्ने बा २ झ ३०८९ र स्वास्थ्य निर्देशनालयका बा २ झ ३१२८ नम्बरको गाडीलगायत मोटरसाइकल तोडफोड गरेका छन् । मन्त्री लिम्बूको कार्यकक्षमा दुई राउण्ड गोलीसमेत चलेको थियो ।
मन्त्रीको कार्यकक्षमा प्रहार गरिएको गोली सुरक्षाकर्मीले गरेको हवाइ फायर हो वा अन्य कसैले चलाएको अनुसन्धान भइरहेको प्रजिअ यादवको भनाइ छ ।
प्रहरीले बाहिर जिल्लाबाट आउने सवारी साधनलाई राजमार्गदेखि नै जाँच गर्दै सवारी रोकेको थियो । तर आन्दोलनकारी विराटनगर आउन सफल भएका थिए । स्थानीय प्रशासनले प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुखको कार्यालय र निवासलगायतका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेका छन् ।

यसैबीच आन्दोलनरत पक्षको दबाबमा परेका सांसदहरुले प्रदेशसभामा आन्दोलनरत पक्षसँग वार्ता गरेर समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरुले वार्ताबाट समाधान खोज्न सरकारलाई सुझाव दिएका हुन् ।

केन्द्रमा कांग्रेस–माओवादी केन्द्रसहितको गठबन्धन सरकार बनेपछि कोशी प्रदेशमा भने एमालेको सरकार छ । सांसदहरुले आन्दोलनरत पक्षसँग वार्ता टोली गठन गरेर वार्ता नगरे स्थिति भयावह हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।











