
काठमाडौं । आज १६औं गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।
जनआन्दोलन ०६२/६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ । महान् उत्सवका रूपमा मुलुकभर विविध कार्यक्रमको आयोजना गरी १६औँ गणतन्त्र दिवस आज उल्लासमय वातावरणमा मनाइँदैछ । नेपाली जनताको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा आजै बिहान विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस भव्यरुपमा मनाइने छ ।
सोही दिवसका उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विभिन्न राजनीतिक दलका प्रमुखले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
उनीहरूले गणतन्त्र स्थापनाको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिकामा रहेका दलका नेताहरूले गणतन्त्र प्राप्तिका आन्दोलनमा सहभागी सबै जनसमुदायलाई हार्दिक अभिनन्दन प्रकट गरेका छन् । विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो ।
तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी)बीच भएको सहमतिअनुसार विसं २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भयो । विसं २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।











