Logo
Logo

प्रचण्डको स्वागतमा यसरी सजाइयो नयाँदिल्लीका सडक



काठमाडौं । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वागतमा भारतको राजधानी नयाँदिल्लीका सडकहरू सजाइएको छ । नयाँदिल्लीका सडकमा ‘प्रधानमन्त्री प्रचण्डलाई भारतमा स्वागत छ,’ लेखिएको फ्लेक्स बनाइएको छ ।

 

प्रधानमन्त्री प्रचण्डको एकल र भारतीय समकक्षी नरेन्द्र मोदीसँगका छुट्टाछुट्टै तस्बिरहरू विमानस्थल, बिजुलीको पोल, कोडलगायत प्रधानमन्त्रीको सवारीको रुट पर्ने स्थानहरूमा स्वागत लेखिएका बोर्डहरू टाँगिएका छन् ।

प्रचण्ड नेतृत्वको टोली आज (बुधबार) दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गरेको थियो । दिउँसो २ः २५ बजे नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेका थिए ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डको टोली सरदार पटेल मार्गमा रहेको होटल मौर्यमा पुगेको थियो । प्रधानमन्त्री प्रचण्डलाई सोही होटेलमा भारतीय प्रधानमन्त्री मोदाका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्राले भेटका छन् । 

प्रधानमन्त्री प्रचण्डको उच्चस्तरीय भेटवार्ता भने बिहीबारदेखि मात्रै सुरु हुनेछ । बिहीबार प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री प्रचण्डलाई हैदरावाद हाउसमा विशेष समारोहका बीच भारतीय समकक्षी मोदीले स्वागत गर्ने कार्यक्रम रहेको छ । 

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्डको यो पहिलो औपचारिक विदेश भ्रमण हो । यस भ्रमणलाई चासोका साथ हेरिएको छ । प्रधानमन्त्री प्रचण्ड आफैँले पनि यस भ्रमण ऐतिहासिक हुने बताउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्