काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क फोनपेले, नेपाल र श्रीलंकाबीच अन्तरआबद्धतायोग्य भुक्तानी प्रणाली विकासको लागि सहकार्य गर्न श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्कस् लंकापेसँग समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको छ ।

यस किसिमको डिजिटल भुक्तानी प्रणालीले दुई राष्ट्रबीचका प्रयोगकर्ताहरूलाई निर्वाध रूपमा भुक्तानी कारोबार गर्न सम्भव बनाउने बताइएको छ ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवसकुमार सापकोटा र लंकापेका सीईओ चन्ना डि सिल्भाले समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेका थिए ।
हस्ताक्षर कार्यक्रममा प्रमुख अतिथिको रूपमा काठमाडौंस्थित श्रीलंका दूतावासका चार्ज डे अफेयर्स तथा चान्सरी प्रमुख निलुषा दिलमिनीको विशेष उपस्थिति रहेको थियो भने एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी डिरेक्टर डेनियल डि श्रेष्ठ र फोनपेका अध्यक्ष विश्वास ढकालको उपस्थिति रहेको थियो ।
यो सहकार्य दुई देशबीच भ्रमण गर्नेहरूको सहजताका लागि अत्यन्त प्रभावकारी हुनेछ । श्रीलंकाका नागरिकहरू नेपाल भ्रमण गर्दा लंकापेद्वारा अधिकृत मोबाइल एप प्रयोग गरी फोनपे नेटवर्कका विभिन्न मर्चेन्टहरूमा ‘क्यूआर’ भुक्तानी गर्न सक्नेछन् ।
त्यसैगरी, श्रीलंका जाने नेपाली नागरिकहरूले फोनपेद्वारा अधिकृत एपहरू प्रयोग गरी ‘क्यु आर’ भुक्तानी गर्न सक्नेछन् । यस पश्चात फोनपे वा लंकापे मध्ये जुनै पनि नेटवर्कको एप प्रयोग गरिरहेका पर्यटकहरूले यी दुई सञ्जालका मर्चेन्टहरूमा सरल र सुविधाजनक तरिकाले क्रसबोर्डर भुक्तानी गर्न सक्नेछन् ।












