Logo
Logo

धीरेन शाहीको उपन्यास ‘नुरिन भ्याली’ लोकार्पण


0
Shares

काठमाडौं । युवा साहित्यकार धीरेन शाहीको नयाँ उपन्यास ‘नुरिन भ्याली’ लोकार्पण गरिएको छ ।

आधुनिक साहित्य परिषद्को आयोजनामा शनिबार काठमाडौंको बालाजुस्थित पारिजात स्मृति केन्द्रमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समालोचकहरूको उपस्थितिमा उपन्यास लोकार्पण गरिएको हो ।

अरबको मरुभूमिमा उँट चराउँदै फिरन्ते जीवन बिताउने बेडुइन समुदायका एक गोठालोको कथामा आधारित उपन्यासलाई नेपाली साहित्यमा नवीन प्रयोगका रूपमा प्रस्तुत गरिएको छ । उपन्यासमा प्रेम र रहस्यमय वियोगको कथासँगै जीवन सङ्घर्ष, जिजीविषा, जोखिमपूर्ण यात्रा, ध्येयनिष्ठा, स्वैरकल्पना, चरमपन्थ, विज्ञान र दर्शनजस्ता बहुआयामिक विषय समेटिएका छन् ।

गौरी पब्लिक रिलेसन एन्ड पब्लिकेसनले प्रकाशन गरेको पुस्तकको वितरण सुख शान्ति मिडिया र न्युरोड बुक्स स्टोरले गर्नेछन् । पुस्तक दक्षिणकाली अफसेट प्रेसमा मुद्रण गरिएको हो ।

धरहरा अभियन्ता तथा वरिष्ठ साहित्यकार ध्रुव गजुरेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार, समालोचक तथा गीतकार डा. बमबहादुर थापा प्रमुख अतिथि थिए । विशिष्ट अतिथि तथा समीक्षकका रूपमा गौरी पब्लिक रिलेसन एन्ड पब्लिकेसनका प्रबन्ध निर्देशक एवं आधुनिक साहित्य परिषद्का महासचिव दामोदर ढकाल र साहित्यकार चन्द्रा न्यौपानेले कृतिबारे धारणा राखेका थिए ।

कार्यक्रममा सरस्वती अर्यालले स्वागत मन्तव्य राखेकी थिइन् भने विष्णु गुरुङले प्रस्तुति दिएका थिए । हिरेन्द्र शाही, शेरबहादुर विश्वकर्मा, रसुवाली कविलगायतले लेखक तथा कृतिको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

आयोजकका अनुसार कार्यक्रममा करिब दुई सय जनाको सहभागिता थियो । कार्यक्रममा लेखक, कवि, साहित्यकार, सामाजिक अगुवा तथा पत्रकारको उपस्थिति रहेको थियो ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का स्थायी बासिन्दा शाही हाल काठमाडौंमा बसेर साहित्य सिर्जनामा सक्रिय छन् । यसअघि उनको गजलसङ्ग्रह ‘घण्टाघर’ २०८० मा प्रकाशित भएको थियो । उपन्यास लेखनदेखि प्रकाशन र लोकार्पणसम्मको यात्रामा साथ दिने सबैप्रति लेखक शाहीले आभार व्यक्त गरेका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000