काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले गर्न नसकेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आफ्नो पार्टी सरकारबाट हटेपछि कुनैपनि सरकार र प्रधानमन्त्रीले ‘समृद्ध नेपालः सुखी नेपाली’ भन्ने आँट गर्न नसकेको दावी गरेका हुन् ।

शनिबार पार्टीको विज्ञान तथा प्रविधि विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कुनै व्यक्ति नभई सिँगो समाजलाई माथि उठाउनका लागि आफूहरूले समृद्धिको एजेण्डा अघि बढाएको बताए ।
अध्यक्ष ओलीले भने, ‘तर, हामी सरकारबाट हटेपछि समृद्ध नेपाल, सुखी नेपाली भन्ने शब्द कुनै सरकार, कुनै प्रधानमन्त्री, कुनै हाम्रा विपक्षहरूले भन्ने आँट गर्दैन । सुखी नेपाली भन्ने आँट गर्न सकेका छैनन् ।’
अध्यक्ष ओलीले गरिबी छिटो अन्त्य हुनेगरी विज्ञान र प्रविधिको प्रयोग गर्न जरुरी रहेको पनि बताए । विकास, निर्माणको कामलाई अघि बढाउनका लागि पनि गरिबी अन्त्य हुन आवश्यक भएकाले विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले जोड दिएर काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।











