
काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यू-१६ क्रिकेटमा दोस्रो खेल अन्तर्गत आज नेपालले घरेलु टोली मलेसियालाई ८४ रनले पराजित गरेको छ । नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३० दशमलव ५ ओभरमा ९९ रनमा अलआउट भएको हो।
समुह चरणको आज भएको अन्तिम खेलमा मलेसियालाई हराउदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाविरुद्धको आजको खेलमा नेपालका अशोक धामीले ४, अभिषेक तिवारीले ३, सन्तोष यादवले २ र किर्तिक कामतले एक विकेट लिए।
यसअघि बांगीस्थित बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल ३३ दशमलव ४ ओभरमा १ सय ८३ रन बनाएर अलआउट भएको थियो । नेपालका लागि अशोक धामीले ५२ रनको अर्धसतकीय पारी खेल्दा अन्य ब्याटर सस्तैमा समेटिए।
बुधबार भएको आफ्नो पहिलो खेलमा थाईल्यान्डलाई हराउँदै सेमफिाइनलमा स्थान बनाइसकेको नेपाल आजको जितसँगै समूह विजेता बनेको छ । थाईल्यान्डलाई पराजित गरेर सेमिफाइनलमा पुगेको मलेसिया समूह उपविजेता भएको छ ।










