
काठमाडौं । एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । मंगलबार घरेलु टिम मलेसियामाथि २२१ रनको सानदार जित निकाल्दै नेपालले उपाधिमा ह्याट्रिक गर्न सफल भएको हो ।
यसअघि भएको यू–१६ इस्टर्न रिजनमा नेपालले लगातार दुई उपाधि जितेको थियो । नेपालले सन् २०१७ मा र २०१९ मा लगातार उपाधि जितेको थियो । नेपालले २०१७ को फाइनलमा सिंगापुरलाई ७२ रन र २०१९ को फाइनलमा मलेसियालाई ५९ रनले हराएर उपाधि जितेको थियो ।
मंगलबार मलेसियाको बायुमास ओभलमा भएको उपाधि भिडन्तमा नेपालले दिएको २५३ रनको लक्ष्य पछ्याएको घरेलु टिम मलेसिया १४.५ ओभरमा ३१ रनमै अलआउट भयो ।
मलेसियाका लागि मोहमद अक्रमले सबैभन्दा बढी १० रन जोडे। अरु ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए ।
मलेसियाको ब्याटरमाथि हाबी हुने क्रममा नेपालका कप्तान अभिषेक तिवारीले ५ विकेट लिए। उनले ६ ओभरमा १ मेडन राख्दा ७ रन मात्र दिए । सन्तोष यादवले ३ विकेट लिए। उनले ३ ओभरमा २ मेडन राख्दा ९ रन दिए।
अशोक धामी र सागर गैरेले १–१ विकेट लिन सफल भए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २५२ रन जोड्यो ।
नेपालका लागि नरेश भट्टले शतक प्रहार गर्न सफल भए। उनले नटआउट ११२ रन जोड्ने क्रममा ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे। त्यसअघि ओपनरद्वय सूर्यान्सु कोइराला १८ रन र निरजकुमार यादव ४७ रन जोडेर आउट भए।
दीपु कुमार ५ रन र प्रतिक भट्टराई १ रनमा रनआउटको सिकार भए । यस्तै सन्तोष यादवले २६ रनको योगदान गर्दा कप्तान अभिषेक तिवारी ४ रन र अशोक धामी ११ रनमा आउट भए । बलिङमा मलेसियाका मोहमद अक्रमले ३ विकेट लिए ।














