Logo
Logo

कान्तिपुर टीभीले पलसँगको अन्तर्वार्ता युट्युबबाट हटायो


2k
Shares

काठमाडौं । कान्तिपुर टेलिभिजनले सञ्चारकर्मी सन्दीप क्षेत्री र अभिनेता पल शाहबीचको अन्तर्वार्ता कार्यक्रम युट्युबबाट हटाएको छ।

गत शनिबार प्रसारित ‘ह्वाट द फ्लप’ कार्यक्रममा अभिनेता पल शाहसँग गरिएको कुराकानीको चौतर्फी आलोचना भएपछि उक्त अन्तर्वार्ता कान्तिपुर टेलिभिजनले सोमबार सामाजिक सञ्जाल युट्युबबाट हटाइएको जानकारी दिएको हो।

‘गत शनिबार प्रसारित ‘ह्वाट द फ्लप’मा छानिएका पात्र र गरिएको संवादबारे जनस्तरबाट प्राप्त प्रतिक्रियालाई कान्तिपुर टेलिभिजन सम्मान गर्दछ। महिलाको प्रतिष्ठा र सम्मान कान्तिपुरको आधारभूत प्रतिबद्धता साथै एजेन्डा पनि हो’, कान्तिपुर टेलिभिजनले भनेको छ, ‘त्यसैले सो कार्यक्रमको कन्टेन्ट युट्युबबाट फिर्ता गरिएको छ।’

उक्त कार्यक्रममा बलात्कार अभियोगमा एक वर्ष जेल सजाय पाएपछि अदालतबाट सफाइ पाएका पल शाहसँग कार्यक्रम सञ्चालक सन्दीप क्षेत्रीले कुराकानी गरेका थिए।

त्यस कार्यक्रममा पलले जेल बसाइका कुरा हाँसीहाँसी सुनाएका थिए भने त्यसमा कार्यक्रम सञ्चालक क्षत्रीले अट्टहास गरेका थिए। त्यसपछि सामाजिक सञ्जालमा बलात्कार जस्तो संवेदनशील विषयलाई पनि हाँसी मजाकको विषय बनाइएको भन्दै व्यापक आलोचना भइरहेको थियो।

उक्त विषयमा कान्तिपुर मिडियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले टेलिभिजन प्रस्तोता क्षेत्रीलाई आवश्यक कार्वाही गर्ने समेत बताएका थिए ।

सम्बन्धित समाचार : सन्दीप क्षेत्रीलाई आवश्यक कारबाही गर्छौं : कैलाश सिरोहिया

प्रतिक्रिया दिनुहोस्