Logo
Logo

सशस्त्रले महिनावारी लिएर लाइन खोल्दा मौलायो तस्करी 


34.8k
Shares

एसपी प्रमोद भारती, डीएसपी दीपेन्द्र थापा र डीएसपी पवन खड्का ।

लहान । सशस्त्र प्रहरी बलले सीमा सुरक्षाको जिम्मा पाएको छ । सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणको जिम्मा पनि सशस्त्रकै हो । तर, सशस्त्र प्रहरी नै तस्करसँग मिलेपछि सिरहामा तस्करी मौलाएको छ ।

सिरहाका भारतसँग जोडिएका नाकबाट सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलकै हाकिमहरूको सेटिङमा तस्करी हुँदै आएको छ । सीमा क्षेत्रका सशस्त्र प्रहरीका नेतृत्वले मासिक दररेट नै तोकेर तस्करीको लाइन खुलाएको भेटिएको छ । सिरहाका सीमा क्षेत्रमा भइरहेको तस्करीबारे दृष्टिन्यूजले स्थलगत रिपोर्टिङ गरेको छ । स्थलगत रिपोर्टिङका क्रममा तस्करी कुन तहसम्म हुँदै आएको छ भन्ने तथ्यहरू फेला परेका छन् ।

केही दिन अगाडि स्थलगत रिपोर्टिङका क्रममा हाम्रो टिम सिरहाको सीमा क्षेत्र पुगेको थियो । बेलुका करिब ७ः४५ बजे नेपाल–भारत सिमाना भारत बिहारको जयनगर हुँदै दशगजा क्षेत्रबाट ३ वटा पिकअपभ्यान पूर्वतिर लाग्छ ।

अन्तै जानुपर्ने ती तीन वटा पिकअपभ्यान मूलबाटो छोडेर चौरतिर लागेपछि थप कौतुहलता जगायो । दशगजासँगै रहेका एक नेपालीलाई ती पिकअपभ्यान कता गएका हुन् ? भनेर प्रश्न गर्दा उल्टै प्रश्न गर्दै उनले भने– ‘तपाईँको घर कहाँ हो ? यति पनि थाहा छैन ? यो बोर्डर हो, राति राति सीमा वारपार के के हुन्छ भन्ने कुरा ? तपाईँ आफै अनुमान लगाउनुस् ।’ 

पछिल्लो समय सिरहामा सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी मौलाएको जनगुनासो चलिरहेको थियो । हामीले देखेको सो घटनाले जनगुनासोमा थप बल पुग्यो, सिरहामा तस्करी मौलाएकै स्पष्ट भयो ।

२०८० साउन ४ गते शनिवार हाम्रो टिम सो क्षेत्र पुगेको थियो । बोर्डर आउटपोष्ट रहेका ठाउँका स्थानीयहरू, बोर्डरमा सानातिना व्यापार गर्ने व्यापारीहरू, ड्युटीमा रहेका सशस्त्र प्रहरीका जवानहरूदेखि अधिकृतहरूसँगको भेटघाट र संवादका क्रममा कसरी र कसको मिलेमतोमा तस्करी हुँदैछ भन्ने थप तथ्यहरू भेटियो ।

एसपीदेखि डीआईजीसम्म तस्करीको नेटवर्कमा

सिरहामा सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयकै सेटिङमा सुरक्षित र व्यवस्थित तरिकाले तस्करी भइरहेको छ । 

सिरहाको ४६ किलोमिटर क्षेत्रमा सशस्त्रका दुई वटा गुल्म र पाँच वटा बोर्डर आउटपोष्ट रहेका छन् । प्रस्तावित सीमा सुरक्षा गुल्म इनरुवा ठाडी मातहत मानबराजपुर र बडहरी बीओपी पर्दछन् । त्यस्तै प्रस्तावित सीमा सुरक्षा गुल्म माडर अन्तर्गत लगडी, इटाटार र बरियारपट्टि बीओपी पर्दछन् ।  

सिरहामा हुने तस्करीको मुख्य नाका भनेकै ‘माडर’ हो । यहाँ अहिले प्रस्तावित गुल्म भएका कारण डीएसपीको दरबन्दी रहेको छ । डीएसपी पवन खड्का गत असार ५ गते तालिम सकेर काठमाडौँबाट काममा फर्के लगत्तै अवैध हुन्डी कारोबारीहरू उमेश साह र नरेश साहले बेरोकटोक काम सुरु गरेका छन् ।

यहाँबाट तस्करी गर्ने ओपेन्द्र साह, अजाद हुसेन मियाँ, प्रमोद, राम सेवक, इन्द्रदेब, लटु र धियानी लगायतका कपडा तस्करहरूको एउटा समूह छ । यो समूहले सशस्त्र प्रहरी बल ७ नम्बर गण सिरहाका एसपी प्रमोद भारतीलाई प्रतिमहिना ८ लाख रुपैयाँसम्म बुझाउने गरेको स्रोतको दाबी छ ।

यहाँबाट ललिता, झरकलही, ओकिल, लाल, ज्याहुल, र दरबीन, अजित, मोहन, दिनेश, भारतीय तस्कर अजय, रामकुमार यादवले मासिक ३५ हजारदेखि १ लाख रुपैयाँसम्म भारतीलाई बुझाउने गरेका पाइएको छ ।

यसबाहेक माडरका डीएसपी खड्काले मात्र महिनाको ८ लाखभन्दा बढी उठाउने गरेका छन् । माडर नाकाबाट काम गर्ने अपाङ्गहरूको संख्या मात्रै ६० जनाभन्दा धेरै छन् । प्रत्येक अपाङ्गसँग माडरका घुमुवा पूर्णदेव महतोले ३ लाखका दरले उठाएर डीएसपी खड्कालाई बुझाउने गरेको स्रोतले बताएको छ ।

०००

सिरहाको सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट बडहरीमा रिपोर्टिङका लागि हाम्रो टिम पुग्यो । त्यहाँ जानु अगाडि दीपेन्द्र साहको लोकल बसमा बडहरीबाट लहानसम्म अवैध किराना मालसामान जाने गरेको सूचना प्राप्त भएको थियो । सूचना अनुसार हाम्रो टिम बिहान १० बजे बडहरी पुग्यो । जहाँ सूचना अनुसार नै बसमा दीपेन्द्र साह र देबीन पासवानका सयौँ पोका मालसामान धमाधम लोड भइरहेको थियो । 

स्रोतका अनुसार सशस्त्र प्रहरी बल ७ नम्बर गण हेडक्वार्टर सिरहाका एसपी प्रमोद भारतीलाई बडहरी नाकाबाट कपडाका मुख्य कारोबारी भगवानलाल साहले मासिक दररेट बुझाउने गरेका छन् । कपडाकै कारोबार गर्ने राघव र पहाडीले पनि एसपीबाटै लाइन पाएका छन् । भगवानलालले १ लाख, राघव र पहाडीले ५० हजार रुपैयाँ मासिक दररेट बुझाएर लाइन पाएको स्रोतले बताएको छ ।

त्यसपछि हाम्रो टिम पुनः सिरहाकै सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट बरियारपट्टि पुग्यो । त्यहाँ सिमापारी भारतको लदनीया बजारबाट आएका सानातिना घरायसी सामान बोकेका व्यक्तिहरूलाई सशस्त्र प्रहरीले चेकजाँच गरिरहेको थियो ।

सशस्त्रको क्याम्पभित्र रहेको छोटी भन्सार अगाडि चिनी, तेल, महिलाले लगाउने कपडा लगायतका मालसामान व्यापारीहरूले थन्क्याएका थिए । बरियारपट्टि नाकाबाट राजीब यादव, बिजय साह, राकेश यादव र नथुनी साहले कपडाको तस्करी गर्ने गरेका छन् । तस्करी गर्न छुट पाएबापत उनीहरूले प्रतिमहिना ३ लाख ५० हजार रुपैयाँ एसपी भारती र यहाँका इन्स्पेक्टर सुरज श्रेष्ठलाई बुझाउने गरेको स्रोतले बतायो । 

त्यस्तै यहाँबाट एसपी भारतीलाई गीता, रेणु, जीबछी, दाँतवाली (घुमुवाले बोलाउने नाम)ले प्रति महिना ७० हजार रुपैयाँ दिने गरेको पाइएको छ । त्यस्तै प्रस्तावित सीमा सुरक्षा गुल्म, इनरुवा (ठाडी)मा केही दिनयता डीएसपीको दरबन्दी कायम गरिएको छ । यहाँ केही महिना अगाडिदेखि डीएसपी दीपेन्द्र थापाले व्यापक रूपमा तस्करीको लाइन दिएका छन् । 

यो नाकाबाट सदाम मियाँले गाई–गोरु नेपालबाट भारत र खसी बाख्रा र राँगा भारतबाट नेपाल ल्याउने गरेका छन् । उनको अर्को मुख्य कारोबार भनेको हुन्डी पनि हो । यी कारोबारमा आँखा चिम्लिएबापत सशस्त्रका मधेस प्रदेशका डीआईजी दीपेन्द्र शाहलाई मासिक दररेट बुझाउने गरेको स्रोत बताउँछ । 

यस्तै कपडा र इलेकट्रोनिक्स समानको कारोबार गर्ने बैजु मण्डल, बलराम गुप्ताले पनि दररेट अनुसार घुस बुझाएर तस्करी गर्न छुट पाएका छन् । यहाँका रामसिया, पिंकी, लिपिस्टिकवालीले किराना तथा महिलाले लगाउने कपडा र कस्मेटिक समानको कारोबार गरे वापत सशस्त्र प्रहरीका एसपी भारतीलाई नजराना बुझाउने गरेका छन् । पवन गुप्ता, बासुकी साह, विकास भन्ने भारतीय व्यापारीले पनि सेटिङमै तस्करी गर्ने गरेका छन् ।

तस्करीको हिसाबले प्रायः बन्द रहेको भनिएको नाका भारत बिहारको ‘पोदमा वीओपी’ इटाटारको इलाकामा पर्दछ । तर केही महिनायता यो नाका पनि निकै चल्तीमा रहेको छ । यहाँबाट बंठा र बिनोद भन्ने व्यापारीले नेपालबाट भारततर्फ रक्सी तस्करी गर्ने गरेका छन् । यी दुवै जनाले एसपी भारतीलाई नै मिलाएका छन् । स्रोतका अनुसार उनीहरूले मासिक १–१ लाख रुपैयाँ बुझाउने गरेका छन् । जिबछ यादव र भारु नाम गरेका व्यापारीलाई खाने तेल, चिनी, कपडा र रक्सीको लाइन दिएबापत दररेट तोकेर घुस असुली गर्ने काम हुँदै आएको छ । 

त्यस्तै राजा सहनी माछाका अवैध कारोबारी हुन् । उनले भारतबाट एक पैसा भन्सार नतिरी नेपालमा दैनिक ६ वटा मोटरसाइकलमा दर्जनौँ पटक माछा ल्याउँछन् । त्यसबापत उनले पनि सशस्त्र प्रहरीका एसपीसँग सेटिङ मिलाएर मासिक रूपमा रेट तोकेरै घुस बुझाउँदै आएका छन् । 

यता केही दिन अघि सशस्त्रका तत्कालीन घुमुवा प्रहरी हबल्दार रामप्रवेश राय यादव ताप्लेजुङ रवाना लिई गइसकेपछि उनको ठाउँमा रामकुमार खङ्गलाई बीओपी बडहरीमा परिचालन गरिएको छ । उनी गणकै एसपी भारतीको घुमुवाको रूपमा काम गरिरहेका छन् । खङ्गले सबै ठाउँमा कुरा मिलाउन नसकेपछि केही दिनअघि ताप्लेजुङबाट यादवलाई बिदामा बोलाएर लहानको एक होटेलमा व्यापारीहरूसँग सेटिङ मिटिङ बोलाई मिलाइएका थिए ।

यसरी सशस्त्र प्रहरीका नेतृत्वले नै तस्करीको लाइन खोलेपछि सिरहामा तस्करी मौलाएको छ । सशस्त्रको तस्करी लाइनमा भन्सारका कर्मचारी र नेपाल प्रहरीका अधिकृतकै पनि मिलेमतो बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्