Logo
Logo

‘अपराधमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउँछौँ’


1.1k
Shares

गोरखा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएरै छोडिने बताएका छन् ।

प्रेस सेन्टर नेपाल गोरखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘ठुला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ ।’ तथ्य र प्रमाणका आधारमा मात्र पक्राउ गरी कारबाही पक्रिया अघि बढाइने उनको भनाइ थियो ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘सामजवादी यात्राको चुनौतीःभ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिरः हरिराम भेटुवाल / रासस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक भएको सुन तस्करीको घटनामा प्रहरीले गहिरो ढङ्गबाट अनुसन्धान गरिरहेको गृहमन्त्री श्रेष्ठले उल्लेख गरे । ‘जरैसम्म पुग्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छु, दोषीलाई कुनै पनि हालतमा उम्कन दिइँदैन’, उनले भने ।

भ्रष्टाचार विरुद्धको अभियान पनि दृढताका साथ अघि बढाइने गृहमन्त्री श्रेष्ठले बताए । आम जनताको जीवनस्तरमा परिवर्तन हुने गरी समृद्धिको आधार तयार पार्न सरकार प्रतिबद्ध भएर लागेको उनले उल्लेख गरे । पछिल्लो समय सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानले नेपाली समाजमा आशा र विश्वास पैदा गरेको गृहमन्त्री श्रेष्ठले बताए ।

विकास र समृद्धिका सवालमासमेत सरकारले समीक्षा गरिरहेको उनले बताए । उनले भने, ‘अर्थतन्त्रका सवालमा केही समस्या थिए, त्यसलाई समाधान गर्दै अर्थतन्त्रलाई पनि लयमा ल्याउने काम भइरहेको छ ।’ अर्थतन्त्रको गतिलाई तीव्र बनाएर विकासमा फड्को मार्नुपर्ने अहिलेको आवश्यकता रहेको मन्त्री श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्