काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक परिषद्का अध्यक्ष रहेको प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ४ बजेका लागि बैठक बोलाएको हो ।

मंगलबारको बैठकमा आगामी प्रधानान्यायाधीश नियुक्ति सिफारिसबारे छलफल हुने बताइएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की २० साउनमा अवकाश हुँदैछन् । उनी ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश हुन लागेका हुन् ।
प्रधानन्यायाधीश कार्कीको अवकाशको दिन आइसक्दासमेत भावी प्रधानन्यायाधीशको सिफारिस हुनसकेको छैन । भावी प्रधानन्यायाधीशको सिफारिस हुन नसकेकाले कार्कीपछि सर्वोच्च अदालत कार्यवाहककै भरमा चल्नुपर्ने अवस्था देखिएको भन्दै आलोचना भइरहेको छ ।
आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । सो छफललमा संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा समझदारी भएको थियो । प्रमुख प्रतिपक्षी दलका नेता परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था छ ।














