Logo
Logo

सत्ताकै लागि सभामुखको राजीनामाले जटिलता निम्त्याउँछ : लिङ्देन


1.3k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा सत्ता प्राप्तिका लागि गठबन्धन दलले सभामुखको राजीनामा गराए प्रदेश संवैधानिक जटिलतातर्फ जाने बताएका छन् ।

आज विराटनगरमा पत्रकारसँगको कुराकानी गर्दै उनले सत्ता पाउनकै लागी सभामुखलाई राजीनामा गराए संवैधानिक जटिलता खडा हुने बताएका हुन् । कोशीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयको अन्तिम दिन आज सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रले सभामुख बाबुराम गौतमको राजीनामा गराएर सरकारमा दावी पेस गर्ने तयारी गरेको छ ।

उनले यसरी बहुमत पुर्याउनकै लागि सभामुखको राजीनामा गराएर सरकारमा दावी पेस गरे विश्वासको मत लिन बस्ने प्रदेशसभा बैठकको अध्यक्षताकाे जिम्मेवारी कसको हुने भन्ने जटिल परिस्थिति उत्पन्न हुने बताए ।

‘जसरी पनि सत्तामा पुग्न सभामुख बाबुराम गौतमलाई राजीनामा गराएपछि विश्वासको मत लिन बस्ने प्रदेशसभा बैठकको अध्यक्षता एमालेले गरिदिन्छ ?, एमालेले सभाको अध्यक्षता नगरिदिए प्रदेश जटिलतातर्फ जाँदैन ?’ भन्दै प्रश्न गरे ।

राप्रपालाई अहिले सत्ता पहिलो प्राथमिकता नभएको र यसअघिका सरकारमा बसेर काम गर्ने प्रयास गरेको तर त्यो नटिकेकाले सरकारमा नजाने लिङ्देनको भनाइ थियो । अहिले कांग्रेस र एमालेलाई मिलेर सरकार चलाउन सुझाव दिएको उनले बताए ।

कोशीमा अहिलेको अवस्था आउनुमा संविधानमा भएको प्रदेशको व्यवस्था नै प्रमुख कारक भएको उनले बताए । ‘प्रदेशको व्यवस्था नै देशमा अस्थिरताको कारक भएको सिद्ध भएको छ’, उनले भने, ‘आर्थिक रूपमा पनि देशका लागि प्रदेश संरचना बोझ भएकाले त्यो सच्याएर अघि बढ्नुको विकल्प छैन ।’

प्रतिक्रिया दिनुहोस्